धरानः संघीय सांसद समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मीनबहादुर विश्वकर्माले चुनावमा गठबन्धन गर्ने नगर्ने विषय अनिवार्य नभएर ऐक्षिक हुनुपर्ने बताएका छन् ।

उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने संकेत गर्दै आवश्यकताका आधारमा चुनावी गठबन्धन हुने बताए । क्षेत्रीय समितिमा मनोनित भएका कोषाध्यक्ष र सदस्यहरुलाई नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा प्रमाण–पत्र वितरण गरिएको कार्यक्रममा संवोधन गर्दै नेता विश्वकर्माले यस्तो बताएको हो ।

कार्यक्रममा प्रदेश १ का सांसद चन्द्रप्रसाद श्रेष्ठले यो र त्यो गुट नभनि सबैलाई समेटेर साथीहरुलाई समितिमा मनोनित गरेको भन्दै क्षेत्रीय सभापति सुजेन्द्र तामाङलाई धन्यवाद व्यक्त गरे । उनले सबै मिलेर र जुटेर मात्र चुनाव जित्न सकिन्छ भन्दै अब पार्टी अधिवेशनको तिक्ततालाई भुलेर संगठन निर्माणमा जुट्नुपर्ने बताए ।

20220327_151750

क्षेत्रीय सभापति सुजेन्द्र तामाङले नेपाली कांग्रेसको विधान र नियमावलीको अधिनमा रही कार्यसमितिको बैठकवाट समेत सर्वसम्मत गराई कोषाध्यक्ष र सदस्यहरु मनोनित गरिएको बताए ।

उनले उम्मेदवार छनौट तथा टिकट वितरण गर्नु भनेको कार्यकर्ताहरुका लागि महत्वपूर्ण अवसर भएकाले एउटैले पटकपटक टिकट र अवसर पाउंदा पार्टीमा त्याग र योगदान गर्नेहरुमा चरम निराशा छाउने भन्दै न्यायोचित मूल्यांकन गरी समान अवसर प्रदान गरिनुपर्ने बताए । क्षेत्र नं. १ को महासमिति सदस्य र प्रदेश सम्मेलन सदस्यहरु सर्वसम्मत चयन गरेर एकताको सन्देश दिर्र्ईएको समेत बताए ।

जिल्ला उपसभापति नगेशचन्द्र राईले १ नं. क्षेत्रले सर्वमान्य र पारदर्शी ढंगले समितिलाई पूर्णता दिएको बताउंदै उच्च प्रशंसा गरे । जिल्ला सचिव माधव घिसिङले आगामी चुनावमा उम्मेदवार चयन गर्दा विशेष ध्यान दिनुपर्ने बताए । नगर प्रमुख तथा महासमिति सदस्य तिलक रार्ईले मनोनित हुन सफल भएका साथीहरुले पदीय गरिमा कायम राख्नुपर्ने बताए ।

प्रदेशसभा निर्वाचन क्षेत्र १(१) का सभापति अनिल श्रेष्ठले यस क्षेत्रमा वाहिरका नेताहरुले अनावश्यक हस्तक्षेप र चलखेल गर्ने गरेको आरोप लगाए । नगर सभापति श्याम पोखरेलले मनोनित भएका सबैलाई बधाई दिंदै सबैले सकृय हुने वेला आएको बताए ।

क्षेत्रीय सचिवद्धय महेन्द्र प्रधान र केशव पुरीवाट सञ्चालित उक्त कार्यक्रममा महासमिति सदस्यद्धय सुवास राई र ममता तामाङ, महाधिवेशन प्रतिनिधि चन्द्रशेखर लामा, प्रदेशसभा निर्वाचन क्षेत्र १(२) का सभापति मुरारी भट्टराई लगायतको उपस्थिति रहेको थियो ।