विराटनगरः प्रदेश नंं. १ मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले आइतवार राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकका निर्णय बारे जानकारी दिनुहुँदै यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने निर्णय भएको बताए ।

प्रदेश नं.१ मन्त्रिपरिषद्को सिफारिसबमोजिम प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा(२) बमोजिम आज राति १२ बजेदेखि प्रदेश सभाको नवौं तथा चालू हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।