बराहक्षेत्रः आगामी स्थानीयतहको चुनाव नजिकिँदै गर्दा सुनसरीको बराहक्षेत्र नगरपालिकाका नेताहरुमा सगर्मी सुरु भइसकेको छ । ०७४ सालको स्थानीय चुनावमा पराजय ब्यहोरेको नेपाली कांग्रेस यसपटक चुनावी परिमाण उल्ट्याउनको निम्ति दौडधुपमा लागेको देखिन्छ ।

पछिल्लो समयाता संगठन बिस्तार र जनपक्षीय कार्यमा समर्पित हुँदै आएको नेपाली कांग्रेसको बराहक्षेत्रमा माहोल सप्रिदै आएको कांग्रेस नेताहरु बताउँछन् । यद्यपि कांग्रेसभित्र मेयरको उमेदवार को हुने भन्ने बारेमा रडाको देखिएको छ । लोकतान्त्रिक पार्टीको नाममा सबैभन्दा बढी मेयरका आकांक्षीहरु बराहक्षेत्रमा देखिएपछि यसको परिमाण सकारात्मक नहुने कांग्रेस निकट विष्लेषकहरुको दाबी छ ।
अघिल्लो निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निलम खनालले १४ हजार ४ सय ४६ मत ल्याएर विजयी भएका थिए भने नेपाली कांग्रेसका उम्मेदवार बाबुराम बिष्टले ११ हजार ४ सय ८९ मत प्राप्त गर्दै पराजित भएका थिए । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार कमल बहादुर कट्वालले २ हजार ७ सय ३८ मत पाएका थिए ।
यस् मत परिमाणलाई नियाल्दा कांग्रेस नेताहरु आपसमा मिलेर जानुपर्ने एक नेताले बताएका छन् । नाम नबताउने शर्तमा उनले भनेका छन्, -लोकतान्त्रिक पार्टीमा धेरैले आकांक्षा गर्नु स्वाभाविक छ तर सबैले आआफ्नो हैसियतअनुसारको भाग खोज्ने हो भने कांग्रेसलाई कसैले हराउन सक्दैन । ती नेताकाअनुसार पार्टीभित्र जसले टिकट पाएपनि सबैले सहयोग गरेर जानुपर्छ ।

कोको छन् त मेयरका आकांक्षी ?

बाबुराम बिष्ट
गत स्थानीय २ हजार बढीको फराकिलो मतान्तरले पराजित भएका बिस्ट यसपटक पुनः मेयर लड्न चाहाँन्छन् । कांग्रेसको १४ औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका बिस्ट बराहक्षेत्र कांग्रेसका अभिभावक समेत मानिन्छन् ।

रमेश कार्की
छोटो समयमा राजनीतिक फड्को मारेका रमेश कार्की वर्तमान नगर सभापति हुन् । सामाजिक कार्यमा निरन्तर सक्रिय देखिएका कार्कीको जनतामाझमा राम्रो छवि देखिन्छ ।

रमेश काफ्ले
राजनीति क्रियामा कम देखा पर्ने रमेश काफ्ले राजनीतिका चतुर खेलाडी मानिन्छन् । जनता बहुमुखी क्याम्पस इटहरीको नेबिसंघ सभापति भइसकेका काफ्ले सफल विद्यार्थी नेता हुन् । बराहक्षेत्रमा विभिन्न शैक्षिक संस्थाहरूमा अध्यापन गराइरहेका काफ्लेलाई युवा पुस्ताहरुको समर्थन देखिन्छ । उनलाई संसदीय फार्टको कुनै न कुनै तप्कामा सहभागि गराउनुपर्ने पार्टीभित्रबाट आवाज उठ्ने गरेको पाइन्छ । उनी पार्टीका प्रदेश महासमिति सदस्य हुन् ।

जगत बहादुर कार्की
कम्युनिस्ट किल्ला भनेर चिनिएको साविक भरौलमा कांग्रेसको जनाधार निर्माण गर्न शसक्त रूपमा लागि पर्ने नेता हुन्, जगत बहादुर कार्की । प्रदेशपोर्टलसँगको कुराकानीमा उनले आफू पटकपटक ठगिएको हुनाले यसपालि पार्टीले मूल्यांकन गर्नुपर्ने बताएका छन् । उनी हाल पार्टीको महासमिति सदस्य हुन् ।

सुरेन्द्र गुप्ता
उद्योग बाणिज्य संघ बराहक्षेत्रका अध्यक्ष गुप्ता सहयोगी नेता हुन् । कार्यकर्ता र जनतालाई आवश्यकीय कार्यमा टुपुल्क्क पुगिहाल्ने नेता गुप्ता गतपटक समेत मेयरको आकांक्षी थिए । हाल उनी पार्टीको महाधिवेशन प्रतिनिधि हुन् ।

अनु गुरुङ
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट अत्याधिक मत पाएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि नेत्री गुरुङको नाम चर्चामा छ । उनी ०७० सालको संविधानसभा चुनावमा समानुपातिक सदस्यकी उमेदवार समेत थिइन । देशव्यापी रूपमा महिला शसक्तीकरणको आवाज उठिरहेको बखत नेत्री गुरुङ यसपालि मेयरमा उठेर विजयी हासिल गर्न चाहान्छिन् ।

बुद्धि कट्वाल
पेशाले अधिवक्ता रहेका नेता कट्वाल अध्यननशील, भद्र र शालिन नेताको रूपमा प्रस्तुत गर्ने गरेका छन् । ०७४ सालको प्रदेश चुनावमा भिम आचार्यसँग पराजय ब्यहोरेका नेता कट्वाल यसपटक भने आफूलाई बराहक्षेत्रको मेयरमा प्रस्तुत गर्न चाहान्छन् ।

उपेन्द्र कट्वाल
बराहक्षेत्र नगरपालिका बाहिरका बासिन्दा भनेर ट्याग लाग्ने गरेका नेता कट्वाल कांग्रेसको सुनसरी क्षेत्र नम्बर ४ का सभापति हुन् । पार्टीभित्र सबैपक्षसँग सुमधुर सम्बन्ध बनाउने नेता कट्वाल यसपटक आफूलाई नगरको मेयरमा प्रस्तुत गर्ने दाउँमा देखिन्छन् ।

कालुराम चौधरी
कांग्रेसका पूर्व जिल्ला सदस्य कालुराम थारु समुदायको भेगिय बाहुल्यता रहेको बराहक्षेत्र नगरपालिकामा आफूलाई मेयरको उमेदवार रूपमा खडा गरेर चुनावी परिमाण आफूतिर फर्काउन चाहान्छन् ।