इटहरीः पञ्चायत कालमा इटहरीको नेतृत्व सम्हालेका इटहरी निवासी रामप्रसाद श्रेष्ठको ९१ बर्षको उमेरमा आइतबार निधन भएको छ ।
इटहरी गाउँपञ्चालय हुँदाका बखत इटहरीको विकासका लागि खटेका श्रेष्ठ इटहरीका दोस्रो निर्वाचित प्रधानपञ्च थिए भने पछि जिल्ला सभासदसम्म भएका थिए ।पहिलेको हाँसपोसामा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाको संस्थापक अध्यक्ष समेत रहेका श्रेष्ठ वि स १९८८ सालमा सुनसरीको धरानमा जन्मिएका थिए ।
इटहरी कार्यक्षेत्र बनाएर सामाजिक सेवा, राजनितिक र शैक्षिक क्षेत्रमा क्रियाशिल श्रेष्ठले इटहरीको विकासमा निकै ठुलो योगदान पुर्याएको उनका समकालिनहरुको भनाई छ । आफु कार्यकालमा रहँदा श्रेष्ठले इटहरीका विभिन्न सडकहरु निर्माण गराएका थिए । उनले इटहरीको व्यवस्थित वस्ती विकासका लागि समेत अवधारणा बनाएर लागू गर्ने प्रयास गरेको थिए ।
उपमहानगरपालिका बिदा
पूर्व प्रधानपञ्च राम प्रसाद श्रेष्ठको निधनमा इटहरी उपमहानगरपालिकाले एक दिन शोक विदा दिने भएको छ । सोमबार उपमहानगरपालिका कार्यालय र वडा कार्यालयहरु बन्द गरिने उपमहानगरपालिकाले जनाएको छ । सोमबार दिउँसो १ बजे इटहरीस्थित बुढीगंगा जमुना मुक्ति घाटमा शवको अन्तीम संस्कार गरिने उनका छोरा भरत श्रेष्ठले जानकारी दिएका छन् ।