झापाः स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा एमालेभित्र देशका बिभिन्न स्थानमा एमालेभित्र विद्रोह शुरु भएको छ । एमालले कम्युनिष्ट पार्टीको सबै सिद्धान्त त्यागेर व्यक्तिवादी चरित्रलाई बढवा दिएको भन्दै विद्रोह शुरु भएको हो । यसै क्रममा एमालेमा रहेर ७ बर्षबढी बिभिन्न जिम्मेवारीमा रहेका झापा निवासी नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य भाष्कर काफ्लेले एमालेबाट विद्रोह गरेका छन् । उनि नेकपा (एकीकृत समाजवादी)को पोलिटव्युरो सदस्य भएका छन् ।
समाजवादीको शुक्रबार सम्पन्न सचिवालय बैठकले काफ्लेलाई पोलिटव्युरो सदस्य बनाउने निर्णय गरेको आइतबार जारी अपानी (अन्तर पार्टी निर्देशन)मा उल्लेख छ ।
चितवनमा सम्पन्न एमालेको दशौं महाधिवेशनमा ओली समूह बिरुद्ध केन्द्रीय सदस्यमा उम्मेदवार बनेर सर्वाधिक मत ल्याएका काफ्ले समाजवादीको पोलिटव्युरो सदस्य बनेका छन् ।
काफ्ले सिपी मैनालीले नेतृत्व गरेको नेकपा (माले)को विद्यार्थी संगठन अनेरास्ववियुको पूर्व केन्द्रीय अध्यक्ष हुन् ।
उनले माले परित्याग गरि एमाले भएका थिए । झापा अर्जुनधाराका काफ्ले सात वर्ष एमालेको केन्द्रीय सदस्य र ताप्लेजुंगको इन्चार्ज रहेका थिए ।
चितवन महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित काफ्ले एमालेको सल्लाहकार परिषद्को सदस्य थिए ।