बराहक्षेत्रः नेपाल संयुक्त दलित समाज, बराहक्षेत्रको आयोजना ५७ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस विभिन्न कार्यक्रम गरि मनाइने भएको छ ।संस्थाका अध्यक्ष रत्न रम्तेलका अनुसार यस दिवसको अबसरमा अन्तरक्रियात्मक कार्यक्रम हुनेछ ।

‘दलित शब्दमाथिको भ्रम र वास्तविकता, नेपालमा छुवाछूत प्रथाको ऐतिहासिक बिकासक्रम, नेपालको संविधान २०७२ मा दलितका अधिकारबारे व्यवस्था’ लगायतका विषयमा अन्तक्र्रिया गरिने भएको हो ।

बराहक्षेत्र ६ स्थित चक्रघट्टीमा हुने अन्तरक्रियालाई पुर्व संविधानसभा सदस्य अनिता परियार र वर्तमान प्रदेशसभा सदस्य उमिता बराइलीले प्रशिक्षित गर्नेछन् । बराहक्षेत्र नगरपालिकाभरबाट खासगरी युवा पुस्तालाई समावेश गरि जागरुक गर्नु यस कार्यक्रमको उदेश्य रहेको अध्यक्ष रम्तेल बताउँछन् । बराहक्षेत्र नगरपालिकाको समन्वयमा हुने कार्यक्रम चैत्र ६ र ७ गते रहनेछ ।