बराहक्षेत्रः नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले आगामी स्थानीय चुनावमा पार्टीले गठबन्धन गर्न आवश्यक नरहेको संकेत गरेका छन् । नेपाल सांस्कृतिक संघ सुनसरी क्षेत्र नम्बर ४ ले आयोजना गरेको होली मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहको आवश्यकताअनुसार मात्र गठबन्धन गरिनुपर्ने बताए ।
‘पार्टी गठबन्धनबारे पार्टीभित्र छलफल भएको छैन, उनले भने, वडा र पालिकामा गठबन्धन आवश्यक छ भने त्यसको अधिकार स्थानीय तहलाई नै हुनुपर्छ ।’ चितवनमा केन्द्रले गठबन्धन लादिदिएपछी त्यहाँको कांग्रेसीमनमा चोट पुगेको बताउँदै पालिकाले गठबन्धनको निर्णय गर्न पाउने अधिकार पाउनुपर्ने उनको तर्क छ ।
सरकारले बैशाख ३० गते स्थानीय चुनाव घोषणा गरेसँगै देशैभर निर्वाचनको गर्मागर्मी सुरु भएको छ । यसैसन्दर्भमा सहमहामन्त्री परियारले पार्टीमा सच्चा योगदान गर्नेले मात्र टिकट पाउने बताएका छन् ।हाम्रो पार्टीको बिधानअनुसार टिकट पाइने हो तर केन्द्र धाएर टिकट पाइदैन, उनले भनें ।
‘नेपाली कांग्रेस आदिवासी, जनजाति, मुस्लिम, थारु सबैलाई समेट्न सक्ने पार्टी हो, उनले थपे, त्यसैले आगामी स्थानीय चुनावमा महिलालाई उपमेयर मात्र हैन अब मेयर र अध्यक्षमा पनि पार्टीले टिकट दिने व्यबस्था गर्नुपर्छ ।’ १४ औं अधिवेशन ताका क्रियाशील सदस्यता विवादबारेमा उनले भनेका छन्, भोक्राह, कोशी र बराहक्षेत्रको स्थगन भएको क्रियाशील सदस्यता तुरुन्तै वितरण गर्ने सोचमा छौ ।