इटहरीः नेपाली कांग्रेस बराहक्षेत्र ४ वडा कार्यसमितिले सम्बन्धित वडाका जनप्रतिनिधिसँग सवाल जवाफ गरेको छ । आइतबार वडावासीका माग, गुनासा र जिज्ञासा्सहितको १६ बुदे ज्ञापनपत्र बुझाएको वडा सचिव सुबिन विश्वकर्माले जानकारी दिए ।
सचिव विश्वकर्माकाले भने, ‘हामीले १ महिनाको समय खर्चिएर वडाभरका प्रत्येक टोलमा गयौं र त्यहाँका स्थानीयको समस्या, माग र आवश्यकतालाई टिपोट गर्दै वडा कार्यालयसमक्ष पेश गरेका छौ ।’
जसअन्तर्गत नयाँपुल, खोरिया, दस बिघे पुल, वडा कार्यालय रहेको स्थान धनपुरी लगायतका ठाउँमा अनियन्त्रित रूपमा उत्खनन भइरहेको माटोको सन्दर्भमा प्रश्न गर्दा वडा अध्यक्ष आशाराम चौधरीले वडाले नै माटो खन्ने अनुमति दिएको स्विकारेका छन् । उक्त अनियन्त्रित माटो उत्खननबाट त्यहाँका स्थानीयवासी प्रत्यक्ष विस्थापित हुने स्थितिलाई दुर गर्न माटो उत्खनन तत्काल रोक्नुपर्ने स्थानीयको मागलाई कांग्रेसले उजागर गरेको थियो । जवाफी अध्यक्ष चौधरीले भने, ‘वडामा बजेट छैन्, पछी डुबान हुन्छ भनेर सरसफाइ गर्न भनेको हुँ तर केहि स्थानमा बढी नै उत्खनन भएको खबर पाएको छु, त्यसलाई अनुगमन गर्नेछु ।’
त्यस्तै, पिडारीस्थित मापदण्डविपरीतको एक बाटोमा ड्रेन निर्माण भइरहेको सन्दर्भमा कांग्रेसले प्रश्न गर्दा अध्यक्ष चौधरीले भनेका छन्, ‘२० फिटभन्दा चौडाइ नभएको बाटोहरुमा वडाले बजेट निकासा गर्दैन । यद्यपि पिडारीमा सोही मापदण्ड नपुगेको बाटोमा वाल (एजिङ) निर्माण भइरहेको छ ।’
वडा कार्यालय धनपुरीमा भएको सवाल जवाफमा कांग्रेसले यसपटकको योजना संकलनमा वडाले सार्वजनिक सूचना किन नगरेको भनी जिज्ञासा राखेको थियो । अध्यक्ष चौधरीले सामाजिक संजालमा आफूले सूचना राख्ने गरेको जवाफ दिएपनी संजालमा सूचना राखेको प्रमाण भने देखाउन सकेनन् ।
त्यस्तै, प्रभात विद्या मन्दिरका प्रधानाध्यापक देब कुमार चौधरीले भने, ‘म तत्कालीन नेकपाको वडा सचिव हुँदैगर्दा उक्त बाटोमा मर्मतसम्भार शिर्षकको बजेटले केहि टिप गिट्टी लगाइदिने वडा अध्यक्षले प्रतिबद्धता गरेका थिए तर अहिले म अलग पार्टीमा भएपछि ‘त्यो बाटोमा हुँदैन’भन्ने जवाफ दिए ।’ वडाअध्यक्ष चौधरीले यसको जवाफ दिदै भनेका छन्, ‘निजि बिधालयमा वडाले बजेट विनियोजन गर्न मिल्दैन ।’
त्यस्तै, पिडारी स्थित ४ वर्षअघि भत्केको वाल, मदन–आश्रीत पुस्तकालय, भत्किएका कालोपत्रे सडकहरु लगायत विषयमा भने बैशाख ३० मा हुने स्थानीय चुनावबाट निर्वाचित भएर आउने जनप्रतिनिधिले गर्नुपर्ने बताए ।
यसैबीच नेपाली कांग्रेस बराहक्षेत्र ४ वडा कार्यसमिति सभापति नुतन धामी भन्छन्, ‘खबरदारी गर्ने र वडालाई समृद्ध बनाउने कार्यमा नेपाली कांग्रेस ४ नम्बर वडा सधै कटिबद्ध रहनेछ ।’