इटहरीः नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग एकिकरण गरेर नेकपा बनाउँदा देखेको विकासको नयाँ मोडेल ल्याउने सपना साकार हुन नसकेको बताएका छन् ।
आइतबार प्रदेश एकको विराटनगरमा आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेकपा रहँदा २५÷३० बर्ष कम्युनिष्ट शासन कसैले हिलाउन सक्दैन भन्ने सोचेको भएपनि केपी ओलीका कारण त्यो सपना पुरा हुन नसकेको बताए । उनले जसलाई नायक हुन सक्छन् कि भन्ने सोचेको उही खलनायकको भुमिकामा आउँदा संघर्ष गर्नुको विकल्प नभएको बताए ।
केपी ओली तर्फ इंकित गर्दै अध्यक्ष प्रचण्डले खलनायकवाला प्रवृति देखिएपछि पुनः संघर्षको आवश्यकता रहेको बताए । उनले भने “आफुलेनै प्रस्ताव गरेको प्रद्यानमन्त्रीबाट प्रहार भएपछि संघर्ष गर्नुको विकल्प थिएन ।”
प्रतिगमन विरुद्ध एकजुट हुने क्रममा गठबन्धन बनाइएको र केन्द्रमा मात्रै नभई सातै प्रदेशमा गठबन्धन सरकार बनाएको कार्यकर्ता सामु प्रचण्डले बताए । पार्टीलाई क्रान्तिकारी पार्टी बनाई छाड्ने संकल्प समेत आफुले गरेको माओवादी केन्द्रका पार्टी अध्यक्ष प्रचण्डले बताए ।
कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टीका अर्का नेता नारायण काजी श्रेष्ठले पार्टी आठौँ राष्ट्रिय महाधिवेशन पछि केन्द्रिय कमिटिको बैठक र प्रशिक्षण कार्यक्रम ढिला गरी सुरु गरिएको बताए ।नेपालको आफ्नै मौलिक बाटो भएर नेपाली वातावरण सुहाउँदो समाजबादी क्रान्तिमा जानुपर्ने आजको आवश्यकता रहेको नेता श्रेष्ठले बताए ।
गुटबन्दीलाई निरुत्साहित गनुपर्ने र पार्टी भित्र विधि, पद्धती लाई समेटेर जानुपर्ने आवश्यकता रहेको नेता श्रेष्ठले बताए । पार्टीमा काँग्रेस र एमालेमा जस्तै भ्रष्टिकरण मौलाएको नारायण काजीको भनाई थियो । पार्टीलाई रुपान्तरकारी हस्तक्षेप नगरे पार्टी काँग्रेस र एमालेकै अवस्थामा आउने श्रेष्ठको दावी थियो ।
“क्रान्तिकारी पार्टी बनाएमात्रै संसदीय पार्टीमा स्थापित हुन सकिन्छ तर क्रान्तिकारी पार्टी बनाउने पाटो भुल्यौँ र संसदीय पुँजीवादी पार्टीमात्रै बन्यौँ भने हाम्रो अस्तित्व सकिन्छ।” नेता श्रेष्ठले भने ।
प्रदेश स्तरीय राजनितिक बैचारिक प्रशिक्षण कार्यक्रमको नाममा माओवादीको प्रदेश एक कमिटिले आयोजान गरेको कार्यक्रममा माओवादी अर्का नेता जनार्दन शर्मा सहित केन्द्रिय स्तरका नेता तथा प्रदेश भरीका कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।