इटहरीः प्रदेश एकको नामाकरणको विषयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि प्रदेशको नाम कोशी राख्नु पर्ने बताएका छन् ।

एमाले अध्यक्ष केपी ओलीले प्रदेशको नाम कोशी राख्नु पर्ने सुझाव दिएको एकसाता पनि नवित्दै अर्को पार्टी अध्यक्ष माधव नेपालले पनि कोशी नै सर्वस्वीकार्य नाम हुनेमा जोडबल गरे ।

सुक्रबार धरानमा भएको नेकपा एकिकृत समाजवादीको कार्यक्रमलाई सम्बोधन गर्न आएका नेता माधव नेपालले पत्रकारहरुसँगको कुराकानीमा प्रदेशको नाम कोशी नै राख्दा सबै पक्ष समेटिने आफ्नो भनाई राखेका हुन् ।

प्रदेश १ को नाम जातीय हुनु नहुने नेता नेपालको भनाई थियो । सबैको सर्वस्वीकार्य हुने र सबैले मान्य हुने कोशीनै उत्तम नाम रहेको पनि नेपालले बताए । अध्यक्ष नेपालले आफूलाई सगरमाथा पक्षधरहरूले प्रदेश १ को नाम सगरमाथा जोडिदिनुस् भन्दै आग्रह गरेको पनि बताए । उनले आफूहरू सबै जातजातिको भूमिकालाई सम्मान गर्ने, भाषा र संस्कृतिको सम्मान गर्ने तर देशलाई जातीय द्धन्दमा लैजान नदिने भन्दै कोशी नाम नै सही भएको तर्क गरे ।

पार्टीको कार्यक्रम हुनु अघि शुक्रबार बिहान समाजवादी प्रेस सङ्गठनले धरानको छाता चौक स्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई विभिन्न आरोप प्रत्यारोप लगाएको भन्दै ती आरोपको खण्डन गरेका थिए । नेकपा एकिकृत समाजवादी देश र जनताका हितका खातिर, समाजको अग्रगति र परिवर्तनका खातिर, कम्युनिस्ट आन्दोलनलाई जोगाउनका लागि हरतरह लागि रहेको छ नेता नेपालले बताए ।