रामधुनीः सुनसरीको सदरमुकाम समेत भएकाले इनरुवा नगरपालिकाको मेयर बन्न धेरै नेताहरुको रुचि देखिन्छ ।
सुनसरी जस्तो सुगम जिल्ला सदरमुकामको मेयर पाए प्रदेश सांसदको भन्दा राम्रो हैसियत बन्ने देखेपछि धेरै नेताहरुले मेयरमा रुची देखाउँन थालेका छन् ।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै इनरुवामा चुनावी सर्गर्मी ह्वात्तै बढेको छ । बलियो जनाधार भएका पार्टीहरु नेपाली कांग्रेस र नेकपा एमालेले गाउँ–गाउँमा चुनावी अभियान स्वरुप संगठन बिस्तारलाई तिब्रता दिएका छन् ।
स्थानीय निर्वाचन आउँन करिब २ महिना मात्रै बाँकी रहेकाले नेताहरुले मेयरको उम्मेदवार बन्नका लागि प्रदेशदेखि केन्द्रसम्मका नेताहरुसँग आफ्नो पक्षमा लभिङ् सुरु गरेका छन् ।
अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेसले जितेको इनरुवामा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेसका उम्मेदवार राजन मेहताले १० हजार ९ सय ८७ मत ल्याएर विजयी भएका थिए भने नेकपा एमालेका उम्मेदवार पोष्टकुमार नेपालले ९ हजार ८ सय १३ मतका साथ पराजित भएका थिए ।
त्यस्तै, मधेशी जनअधिकार फोरमका मनोज कुमार मेहताले २ हजार ६ सय १५ मत ल्याएका थिए । विजय कुमार गच्छदार नेतृत्वको फोरम हाल कांग्रेसमा समाहित भइसकेको छ भने उक्त पार्टीका तत्कालिन उम्मेदवार मेहेता एमालेमा प्रवेश गरेका छन् ।
गच्छदार नेतृत्वको फोरम अस्तित्वमा नरहेपछि कांग्रेस र एमाले बाहेक इनरुवामा अन्य साना पार्टी निर्णायक शक्तिका रुपमा देखिदैनन् । नेकपा माओवादी केन्द्र, एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी र तराईमा राम्रो जनाधार भएको भनिएको जसपाको जनाधार इनरुवामा त्यति बलियो देखिदैन ।
कांग्रेसमा ४, एमालेमा ५ जनाको नाम चर्चामा
अघिल्लो निर्वाचनमा मेयर–उपमेयर दुवै पदमा जित हात पारेको नेपाली कांग्रेसबाट इनरुवाको मेयरमा मुख्य ४ जनाको नाम चर्चामा छ ।
कांग्रेस सुनसरी जिल्ला सभापति केदार भण्डारी, जिल्ला उप–सभापति सञ्जय श्रेष्ठ, पार्टी नगर सभापति एवंम बर्तमान मेयर राजन मेहता र नगर अधिवेशनमा नगर सभापतिमा पराजित योगेन्द्र प्रसाद मेहता कांग्रेसबाट इनरुवामा आगामी मेयरको आकांक्षी देखिएका छन् ।
त्यस्तै, इनरुवामा बलियो संगठन् भएको अर्को दल हो नेकपा एमाले । एमालेबाट मेयरमा मुख्य ५ जनाको चर्चा देखिएको छ ।
२०५४ सालको स्थानीय निर्वाचनमा इनरुवाको मेयरसमेत भइसकेका निकै पुराना नेता खेमराज पोख्रेल आउँदो स्थानीय निर्वाचनमा मेयर लड्ने मनस्थितिमा छन् । उनी पार्टीमा निकै सिनियर नेता हुन् ।
त्यस्तै, प्रदेश कमिटी सदस्य सरोज पोख्रेल, केन्द्रीय अनुशासन आयोगका सदस्य पोष्टकुमार नेपाल, शत्रुधन यादव र भर्खरै कांग्रेसबाट एमाले प्रवेश गरेका मनोज कुमार मेहताको नाम चर्चामा छ । अघिल्लो निर्वाचनमा तत्कालिन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)को तर्फबाट मेहेता मेयरका उम्मेदवार बनेका थिए ।
जनाधार कमजोर भएका साना दलमा पनि आकांक्षी
इनरुवमा कांग्रेस र एमाले बाहेक अन्य दलको उपस्थिति त्यति बलियो छैन । तर कमजोर जनाधार भएका दलमा पनि मेयरका आकांक्षी भने निकै देखिएका छन् ।
नेकपा माओवादी केन्द्रबाट रमेश भट्टराई, ओके दाहाल, नरेश मेहता र तोया गिरी मेयरको आकांक्षी देखिएका छन् । अघिल्लो स्थानीय निर्वाचनमा एक हजार भोटसमेत कटाउँन नसकेको माओवादीले यस पटक भने टक्कर दिने माओवादीका नेता ओके दाहाल बताउँछन् ।
त्यस्तै, एमाले विभाजित भएर बनेको नेकपा (एस) मा पनि ३ जना आकांक्षी देखिएका छन् । पार्टी प्रदेश कमिटी सदस्य द्वय तिर्थ अधिकारी, सम्भु प्रसाद आचार्य र जिल्ला सचिव बसन्त सुवेदी नेकपा (एस) बाट इनरुवाको मेयरका आकांक्षी हुन्। इनरुवामा नेकपा (एस) ले करिब १२ सय हाराहारीमा भोट ल्याउँने नेताहरु आंकल गरिएको छ । आफु नजिते पनि नेकपा (एस) ले एमालेलाई हराउँन सशक्त भूमिका खेल्ने सोहि पार्टीका नेताहरुको भनाई छ ।
त्यस्तै, जनता समाजवादी पार्टीले समेत इनरुवामा चुनाव लड्ने तयारी सुरु गरेको छ । जसपामा मुख्य ३ जना आकांक्षी देखिएका छन् । जिल्ला अध्यक्ष भगिरथ खत्वे, नेताहरु अभिनब यादव र दिलिप चन्द शाह जसपाबाट मेयरका दावेदार हुन् ।