बराहक्षेत्रः बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ४ स्थित नयाँपुल र पिडारीसम्मको भूभाग अनियन्त्रित उत्खनन भइरको छ । सुनसरी मोरङ सिँचाइ आयोजना अन्तर्गत पर्ने उक्त नहरको छेउछाउको भूभाग उत्खननमा वडा कार्यालयले समेत स्वीकृति दिएको बताइएको छ ।
पानीको नियन्त्रण गर्न उक्त खोला सरसफाइ गर्नको निम्ति स्थानीय व्यबसायीले वडा कार्यालयको अनुमतिमा उत्खनन गरि माटो किनिरहेको बुझिएको छ । ती व्यबसायीले भनेका छन्, हामीले वडा र सिचाइको स्वीकृतिमा मात्र खन्न थालेका हौं ।
आज (बुधबार) नेपाली कांग्रेस बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ कार्यसमितिले अनुगमन गरेको छ । स्थानीयबासीले पटकपटक वडा कार्यालयमा गइ गुनासो पोखे पनी सुनुवाइ नभएको एक स्थानीयले बताए । कांग्रेसको टोलिले आग्रह गरेपछि स्थानीयसँग समन्वय हुन्जेल तत्कालका लागि माटो खन्न रोकिएको कांग्रेसका बराहक्षेत्र ४ सभापति नुतन धामिले जनाए ।
माटो उत्खननको यहि क्रम नरोकिए खोरिया र नयाँपुलका दर्जनौं घरहरु बिस्थापित हुने देखिन्छ । यता वडा कार्यालयले भने स्थानीय व्यबसायीहरुले त्यताका बासिन्दाको हस्ताक्षरसहितको पत्र लिएर वडा कार्यालय पुगेपछि अनुमती दिएको बताएको छ ।
सुनसरी मोरङ सिचाइ आयोजनाका इन्जिनियर नित्यानन्द झाले भने वडा कार्यालयले मनखुसी माटो खन्न अनुमति दिने गरेको बताएका छन् । उनले भने, स्थानीयलाई प्रभाव पर्नेगरी उत्खनन भइरहेको छ भने तत्कालै रोक्नुहोस् ।