इटहरीः सरकारले तोकेको स्थानीय तहको चुनाव आउन लगभग ६६ दिन बाँकी छ । चुनाव नजिकिँदै जाँदा अघिल्लो निर्वाचनको फ्लास ब्याक हामीले हाम्रो पाठकको लागि पस्किने जमर्को गरेका छौँ ।
कस्तो थियो त अघिल्लो स्थानीय निर्वाचन ? बिभिन्न पालिका र वडाको मत परिणाम झल्काउने क्रममा हामीले इटहरी उपमहानगरको मेयर, उपमेयर र वडा नम्बर १ देखि ४ सम्मका अध्यक्षहरुको मत परिणामलाई यस अघिनै समेटिसकेका छौँ । आज हामीले इटहरी उपमहानगरको वडा नम्बर ५ मा अघिल्लो स्थानीय तहको चुनाव जो २०७४ सालमा भएको थियो त्यसको परिणाम ल्याएका छौँ । अघिल्लो स्थानीय चुनावमा इटहरी उपमहानगरको वडा नम्बर ५ मा ७ जना उम्मेद्धवारहरु वडा अध्यक्षको प्रतिस्पर्धामा थिए ।
७ जना मध्ये २ जनाले स्वतन्त्र उम्मेद्धवारी दिएका थिए भने बाँकी ५ जना राजनितिक पार्टीको टिकटमा चुनावमा सहभागी भएका थिए । ७ जनामा सबैभन्दा कम मत ल्याउने उम्मेद्धवार राम कुमार चौधरी हुन । स्वतन्त्र रुपमा वडा अध्यक्षको प्रतिस्पर्धामा लडेका चौधरीले जम्मा जम्मी २ मत ल्याएका थिए भने अर्का स्वतन्त्र उम्मेद्धवार हिरामणी शर्मा पोखरेलले १० मत ल्याएका थिए ।
राजनितिक पार्टीबाट उम्मेद्धवार बनेका मध्ये सबैभन्दा कम मत राप्रपाका उम्मेद्धवार अम्बर बहादुर श्रेष्ठको देखिन्छ । श्रेष्ठको कुल मत १ सय ४२ आएको थियो भने चौथो स्थानमा आएका संघीय लोकतान्त्रिक राष्टिय मञ्चका उम्मेद्धवार सन बहादुर लिवाङ्गले ४३९ मत प्राप्त गरेका थिए ।
वडा अध्यक्षमा मुलत नेपाली कांग्रेस र नेकपा एमालेको प्रतिस्पर्धा भएको देखिन्छ । तेस्रो हैसियतमा भने नेकपा माओवादीका उम्मेद्धवार ज्ञान बहादुर राई आएका थिए । राईले ५ सय ४७ मत पाए भने नेकपा एमालेका कल्याण बहादुर कार्कीले २ हजार ६ सय ८२ मत पाएर वडा अध्यक्षको ताज पहिरिए उता नेपाली काँग्रेसका उम्मेद्वार तिर्थराज पराजुलीले १५ सय २३ मत पाएर प्रतिस्पर्धी उम्मेद्वारमा दर्जिएका थिए ।
इटहरी वडा नम्बर ५ को दलित महिला सदस्यमा हरिमाया विश्वकर्माले जित हात पारेकी थिइन् । नेकपा एमालेबाट उम्मेद्वार रहेकी हरिमायाले २ हजार ७ सय ४९ मत पाएकी थिइन् भने उनका प्रतिस्पर्धी उम्मेद्धवार नेपाली काग्रेसकी तारादेवि शंकरले १६२० मत पाएकी थिइन् ।
वडा नम्बर ५ को वडा सदस्यमा दुवै नेकपा एमालेका ईश्वर बिक्रम शाह र सन्तोष कुमार पराजुली बिजयी भएका थिए दुवैको मत परिणाम २६ सय ३७ र २६१३ रहेको थियो । महिला सदस्यमा पनि नेकपा एमालेकी टिका देवि बस्नेतले जित हासिल गरेकी थिइन् भने नेपाली काग्रेसकी दुर्गा कुमारी पाठकले १६ सय ६६ मत ल्याएर खरै प्रतिस्पर्धा गरेकी थिइन् ।