इटहरीः मोरङ्ग जिल्लाको रंगेली नगरपालिकाका मेयर एवं उद्योगी दिलीपकुमार बगडीया (अग्रवाल) र उपमेयर केशवकुमारी खराल, वडाध्यक्षहरू रामचन्द्र मण्डल, महानन्द मण्डल र कृष्ण खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बगडीया सहितका जनप्रतिनिधिलाई एक कार्यक्रमका बिच पार्टीमा स्वागत गरे ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा मेयर, उपमेयर र वडाध्यक्षहरू नेकपा (माओवादी केन्द्र)बाट विजयी बनेका थिए । मेयर बगडीया र उपमेयर खराल सहितलाई एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरूले पार्टी प्रवेश गराएका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले जनतालाई देखाउने गरी कुनै काम गर्न नसकेको बताउन भ्याए भने माओवादी अन्यौलको पोको भएको हुनाले अहिले एमालेमा जनलहर आएको बताए ।

एमाले मोरङले रंगेलीमा बुधवार आयोजना गरेको तराई मधेस केन्द्रित जनसभामा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले निर्वाचन आयोगले हरियो कलरको मतपत्र छाप्न लागेको प्रति असन्तुष्टि समेत प्रकट गरेका थिए ।

बगडीया लगायतका जनप्रतिनिधिलाई पार्टी प्रवेश गराउनकै लागि एमालेले रंगेलीमा वृहत जनसभाको आयोजना गरेको हो । विभिन्न दल परित्याग गरेका ४ हजार ७ सय १० जनालाई पार्टीमा प्रवेश गराइएको एमालेले दावी गरेको छ ।