इटहरीः सरकारले आउँदो बैशाख ३० गते स्थानीय निकायको चुनाव गर्ने भनेर मिति सार्वजनिक गरेसँगै चियापसलदेखि पार्टी कार्यालयसम्म चुनावी चहलपहल र चर्चा शुरु भएको छ ।
देश संघीय व्यवस्थामा गएसँगै पहिलो जनप्रतिनिधिको रुपमा हाल कायम रहेका पदाधिकारीहरुको दिनगन्ती शुरु भएको छ भने अन्य धेरै नयाँ अनुहारहरु आफ्नो टिकटको व्यवस्था मिलाउने केन्द्रमा लबिङ गर्न थालिसकेका छन् । सबै प्रकारका शक्ति प्रयोग गरि आफ्नै नाममा टिकट ल्याउन धेरै स्थानीय तहका नेताहरु भित्र भित्र लागि परेको पाइएको छ ।
आफ्नो ५ बर्षे कार्यकालमा राम्रै काम गरे भन्न ठान्नेहरु फेरी दोहोरिने मुडमा छन् भने अन्य आकांक्षीहरु कसरी आफ्नो पोल्टामा पार्ने भन्ने सोचमा छन् ।
पुर्व अथवा प्रदेश एककै केन्द्र विन्दुका रुपमा चर्चामा रहेको सुन्दर नगरी इटहरीमा हेर्ने हो भने मेयरका निकै आकांक्षीहरु देखिएका छन् । हाल मेयर सार्वजनिक कार्यक्रममै पुनः मेयरमा उठ्ने बताउँदै हिड्न थालिसकेका छन् । उनि कार्यकालको अन्तिम समयमा उद्घाटन र शिलन्यासमा दैनिक जसो व्यस्त देखिन थालेका छन् । उनिसंगै उपमेयर पनि उत्तिकै सक्रिय भएकी छन् । गौतमले पनि मेयर पदका लागि भित्र भित्र व्यापक तयारी थालेकी छन् । पार्टीका स्रोतका अनुसार भित्री रुपमा मेयर पदका लागि पार्टी अध्यक्ष केपी ओली सामु आफुलाई उपस्थित गराई सकेकी छन् ।
मेयर चौधरीले पनि स्थानीय निर्वाचन घोषणा भएलगत्तै पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई भेटेरै आफु पुन आकांक्षी रहेको बताइसकेका छन् भने स्थानीय चुनाव घोषणा पछि पोखरेललाई इटहरीमा बोलाएर आफ्नो घरै अगाडीको खोल्सामा बनेको पुल उद्घाटन गराउन समेत भ्याएका छन् ।
चौधरीले चुनावी प्रचारका लागि भन्दै नयाँ बोलेरो समेत किनेर सामाजिक सञ्जाल मार्फत आफु पुनः चुनाव लड्ने जनाउ दिइसकेका छन् । आफ्नै पार्टीको जिल्ला अधिवेसनमा १८ सय प्रतिनिधिले भोट गर्दा समेत जम्मा ८० मत पाएका इटहरीका मेयर द्धारिकालाल चौधरी चुनावी तयारीमा लागिसकेको उनि निकट स्रोतको भनाई छ । पार्टीका प्रतिनिधिले समेत नपत्याइएका चौधरी टिकटका लागि ठुलै खर्च गर्न तयार रहेको पार्टी प्रतिनिधिहरु बताउँछन् ।
यदि पार्टीले टिकट नदिए विद्रोह गर्ने नभए स्वतन्त्र रुपमै भएपनि मेयर पदमा उम्मेद्वारी दिएरै छाड्ने मनस्थितीमा मेयर चौधरी पुगिसकेको उनका नजिकाहरु बताउछन् । उता एमालेकै नेता रामप्रसाद चौँलागाई र एमालेका नगर अध्यक्ष यामकुमार सुव्वा समेत मौका मिले मेयरको उम्मेद्धवार बन्ने मुडमा रहेको पाइन्छ । एमालेबाट प्रदेश सांसद समेत रहेका तथा इटहरीका पहिला मेयर सर्वध्यवज साँवाको समेत मेयरमा चर्चा सुनिन थालेको छ ।
प्रदेश १ का अर्का संसाद निलम बस्नेत पनि मेयर पदका अर्का शसक्त दावेदार नेता भित्र पर्छन् । उनले पनि इटहरी उपमहानगरको मेयर पदका लागि आफुलाई योग्य उम्मेद्वारका रुपमा पार्टीको केन्द्रिय तहमै दावी प्रस्तुत गरिरहेको बुझिएको छ । उद्योग वाणिज्य संघ इटहरीको सफल अध्यक्ष भईसकेका उनले मेयरको टिकट पाउने संभावना बलियो बन्दै गएको उनि निकट नेता तथा कार्यकर्ताहरुको भनाई छ ।
आकांक्षीहरुको लामो लिष्टनै तयार हुन थालेपनि एमाले जिल्ला अध्यक्ष रेवतीरमण भण्डारी पनि इटहरी उपमहानगरको मेयरको आकाक्षी रहेको बताइन्छ । यसैगरी इटहरी उपमहानगरको उममेयरमा नेकपा एमालेकी केन्द्रिय सदस्य अमृता सुब्बा, बिष्णु शर्मा नेपाल र बन्नुलाल चौधरीको चर्चा चलेको छ ।
चिया चौतारीहरुमा नेपाली काँग्रेसका तर्फबाट इटहरीको मेयरका लागि पार्टीका नगर सभापति हेमकर्ण पौडेल, उद्योग वाणिज्य संघका भिम बहादुर पौडेल र रोहित प्रसाईको नाम चर्चामा छ । प्रसाई अघिल्लो स्थानीय तहको निर्वाचनमा निकटतम प्रतिद्धन्दी थिए भने हेमकर्ण पौडेल अघिल्लो चुनावमा पनि टिकक पाउने पाउने चर्चा हुँदा हुँदै अन्तिम चरणमा आएर मेयरका लागि टिकट नपाए नेता हुन् । उनलाई पछि प्रदेशको निर्वाचनमा पार्टीले टिकट दिएको थियो । उनि एमालेका सर्वध्वज साँवासंग पराजित भएका थिए । उता भिम पौडेल उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष पदमा छन् ।
पौडेललाई वाणिज्य संघको अध्यक्षमा निर्वाचित गराउन हेमकर्ण पौडेलको ठूलो योगदान रहेको तर अहिले भीम पौडेल नै हेमकर्णका लागि मेयरको टिकट ल्याउने बिषयमा तगारो बनिरहेको कांग्रेसका केही युवा नेताहरुको भनाई छ । हेमकर्ण र भीम बीचको सम्बन्ध उद्योग वाणिज्य संघको निर्वाचन सकिएको ३ महिना नसकिँदै चिसिएको थियो । पछिल्लो समय भीम अघिल्लो चुनावमा नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उम्मेद्वार बनेका रोहित प्रसाईँसंग नजिक भएका छन् ।प्रसाईले ०७४ निर्वाचनमा १९ हजार ९ सय ८५ भोट ल्याएर पनि पराजित हुनु परेको थियो भने विजयी उम्मेद्धवार द्धारिकालाल चौधरीले २२ हजार ६८९ मत पाएका थिए ।
उपमेयरमा भने नेपाली काँग्रेसका विमला शिवाकोटी,कल्पना चौधरी, निर्मला चौधरी र सविना शोभा कोइराला लगायत आकांक्षी देखिएका छन् । शिवाकोटी भने हाल उपमेयर गौतमसंग अघिल्लो स्थानीय निकायको चुनावमा पराजित उम्मेद्धवार हुन् ।
उता नेकपा एमालेबाट विद्रोह गरेर आएको पार्टी नेकपा एकिकृत समाजवादीबाट मेयर पदमा केशबकुमार बिष्ट,केबल फुयँल लगायतको नाम चर्चामा आउन थालेको छ । केशव कुमार विष्ट नेकपा एसका केन्द्रिय सदस्य हुन भने केवल फुयाँल सोही पार्टीका इटहरी नगरकमिटि इन्चार्ज हुन् । स्थानीय निर्वाचनमा गठबन्धन भए सहमतिमा उम्मेद्वार चयन गर्ने मनसायमा समाजवादी रहेको छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्रबाट इटहरीको मेयरमा ज्वाला तामाङ्ग, अनिता परियार र शिवकुमार डाँगीको नाम चर्चामा छ । अनिता परियार संविधानसभा सदस्य र पार्टीकी केन्द्रिय सदस्य हुन् । शिव कुमार डाँगी नेकपा माओवादी केन्द्रको प्रदेश एकको उपाध्यक्ष छन् । अघिल्लो स्थानीय निर्वाचनमा नेकपा माओवादीको तर्फबाट मेयरकी उम्मेद्वार बनेकी हरिमाया जिमीले ३ हजार ३ सय ६४ मत प्राप्त गरेर चौथो बरियतामा आफ्नो नाम राखेकी थिइन् ।
चुनाव घोषणामात्रै भएकाले सबै पार्टीहरु आन्तरिक र गठबन्धन गर्ने तिव्र छलफलमा लागेका छन् । पाँच दलिय गठबन्धनलाई निरन्तरता दिने घोषणा गर्दै आएका सत्तारुढदलको बोलिले सार्थकता पाउने हो भने इटहरीको चुनावमा गठबन्धन कांग्रेस या नेकपा एसले मेयर पाउने चर्चा सुनिन्छ भने उपमेयरमा माओवादी या कांग्रेसले टिकट पाउने चर्चा सुनिन थालेको छ । तपाथी गठबन्धन हुने र नहुने कुराको टुगोँ अहिले सम्म लागेको छैन । नेपाली कांग्रेसका नेताहरुमा एकरुपता नहुँदा गठबन्धन नगर्ने सार्वजनिक अभिव्यक्ति आइरहेका छन् । अन्य दल तयारी नभएको अवस्थामा नेकपा एकिकृत समाजवादी पनि सुनसरीमा एक्लै लड्न तयार भएको बताइसकेको छ ।
सुनसरीकै ठुलो बजेटको चलखेल हुने उपमहानगर भएकाले इटहरीको मेयर बन्ने सपना बोक्नेहरुको लाइन निकै पाइन्छ । आफु नजित्ने पक्का भएता पनि जित्नेहरुको भोट कटाउनको लागि मात्रै पनि उम्मेद्धवारी दिनेहरु आउँदो निर्वाचन निकै छन् । जित्ने सम्भावना कम हुँदा पनि साना पार्टीहरु पनि चुनावमा होमिनेगरेका छन् । त्यसो त राष्ट्रिय प्रजातन्त्र पार्टी अघिल्लो निर्वाचनमा ३ हजार ७ सय भन्दा बढि मत ल्याएर तेस्रो वरियतामा थियो ।
अघिल्लो निर्वाचनमा राप्रपाका रोहित बहादुर कार्कीले मेयरमा प्रतिस्पर्धा गरेका थिए । यसपालाको निर्वाचनमा कसलाई उठाउने भन्ने छलफलकै क्रममा रहेको राप्रपा सम्बद्ध स्रोतले बतायो । लोकतान्त्रिक राष्ट्रिय मन्च, संघिय समाजवादी फोरम, परिवार दल, जनता समाजवादी पार्टी, लोकतान्तित्र समाजवादी पार्टी लगायत र केहि स्वतन्त्र उम्मेद्धवारले समेत चुनावमा प्रतिस्पर्धा गर्ने बुझिएको छ ।