विराटनगरः प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले महिलालाई धर्तीमै आउन नदिने काम हुनु दुःखत भएको बताएका छन् । गर्भावस्थामै पुरुष छ की महिला भनेर भ्रुण हत्या गर्ने काम अहिले पनि भईरहेको उनले बताए ।

११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । मुख्यमन्त्री राईले भने,‘ महिलाले जन्मेपछि दुःख पाउने हैन, जन्मनै नदिने काम भईरहेको छ ।’

उनले सम्पतिको अधिकारबाट महिलाहरु अझैपनि बञ्चितिकरणमा परेको बताए । महिलाहरुलाई पुरुष सरह बराबरीको अवस्थामा पुर्याउनु आवश्यक भएकोमा उनको जोड छ । उनले भने,‘ ऐन कानुन परिवर्तन गरेर र प्रथा प्रचलन हटाएर महिलाहरुलाई पुरुष सरह बनाउनु पर्छ ।’

स्वास्थ्यमन्त्री जयराम यादवले महिलाहरुले आफ्नो अधिकार मागेर प्राप्त गर्न नसके खोसेर भएपनि लिनुपर्ने बताए । उपसभामुख सरस्वती पोखरेलले संविधान, कानुन महिला मैत्री भएको बताए । संविधान, कानुन महिला मैत्री हुँदापनि समाज महिला मैत्री हुन नसकेको उनले बताए । समाजको व्यवहार महिलामैत्री नहुँदा महिला हिंसाका घटनामा कमी आउन नसकेको उनले बताए ।

photo 1 (7)

सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्वाहाम्फेले राज्यको प्रत्येक संरचनामा महिलाको ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए ।मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले महिलामाथि हुने विभेद अन्त्यका लागि महिला मैत्री समाज निर्माणका लागि लाग्नु पर्ने बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, उपसचिव कृष्णप्रसाद पोखरेल, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसअघि विराटनगर देवकोटा चौकबाट प्रभातफेरी निकालिएको थियो । प्रहरी ब्याण्डवाजा र साँस्कृतिक झाँकी सहित र्याली निकालिएको थियो । र्याली जलजला मोडहुँदै बजार परिक्रमा गरि आदर्श विद्यालयमा आयोजना गरिएको मञ्चको कार्यक्रममा सहभागि भएको थियो ।

photo 2 (3)

यसैवीच आदर्श विद्यालयमै आयोजना गरिएको खुल्ला रक्तदानमा १७ प्रिन्ट रगत संकलन भएको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताए । उनका अनुसार रक्तदान कार्यक्रममा १२ महिला सहित १७ जनाले रक्तदान गरेका थिए ।  अन्तराष्ट्रिय महिला दिवसको अवसरमा विराटनगर स्थित मानवसेवा आश्रममा आश्रितहरुलाई फलफूल वितरण गरिएको छ ।

photo 6