इटहरीः प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र कुमार राईले ११२ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चितताको कामना गर्दै संसारभरिका महिलामा शुभकामना व्यक्त गरेका छन् ।

महिला र पुरुष बीच हुने आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक असमानतालाई कम गर्ने सन्दर्भमा सन् १९०८ मार्च ८ मा विश्वका केही प्रबुद्ध महिलाहरूले संगठित रूपमा थालनी गरेको प्रयासलाई कदर गर्दै सोही दिनको स्मरणमा हरेक वर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश मनाउने चलनलाई मुख्यमन्त्रीले स्मरण गराएका छन् ।

अमेरिकाको शिकागो शहरमा महिलाहरूले समान अधिकारको माग लिएर हड्ताल र विशाल जुलुश प्रदर्शन गरेको र त्यसको दुई वर्षपछि सन् १९१० मा डेनमार्कको राजधानी कोपेनहेगेनमा भएको महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा महिला नेतृ क्लारा जेट्किनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउन गरेको प्रस्ताव पारित भएपछि संसारभरि यो दिवस मनाउन थालिएको बताउँदै मुख्यमन्त्री राईले नेपालको संविधान, २०७२ ले मौलिक हकको धारा ३८ मा महिलामाथि हुने अत्याचार, शोषण, दमन र हिंसा जस्ता लैङ्गिक विभेद र अमानवीय व्यवहारहरू अन्त्य गरी महिला र पुरुष बीच समानताको प्रत्याभूति गर्न महिलाको हक सुनिश्चित गरेको स्पष्ट पारेका छन् ।

आर्थिक रुपले अशक्त र असाहय अवस्थामा रहेका एकल महिलासमेतलाई सामाजिक सुरक्षाको प्रबन्ध गरेको बताउँदै मुख्यमन्त्री द्धारा जारी गरिएको शुभकामना सन्देशमा राज्यले हरेक क्षेत्रमा ३३ प्रतिशत आरक्षणको व्यावस्था गरेको प्रष्टिकरण दिएका छन् ।

लैङ्गिक विभेद अन्त्य गर्ने, महिलाविरुद्द धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोविज्ञान वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण नगरिने कानूनी प्रबन्ध हुदा हुदै पनि लैङ्गिक हिंसाका घटना हुनु भनेको दुखद् भन्दै मुख्यमन्त्री राईले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिलामाथि हुने सबै किसिमका भेदभाव तथा हिंसा अन्त्य गरी सभ्य समाज निर्माण गर्न नवीनतम् पहलका लागि हामी सबै एकजुट हौं भनी आह्वान गरेका छन् ।