विराटनगरः ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा प्रदेश १ की उपसभामुख सरस्वती पोखरेलले शुभकामना व्यक्त गरेकी छन् ।

आज शुभकामना सन्देश सार्वजनिक गर्दै उनले १ नम्बर प्रदेशबासीलगायत स्वदेश तथा विदेशमा रहेकाका समस्त नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेकी हुन् ।

‘श्रमिक महिला दिवसले समस्त नेपाली महिला दिदीबहिनीबीच आपसी सद्भाव र एकता कायम गर्नुका साथै लैंगिक समानता, महिला सशक्तीकरण र महिलाहरुको हकअधिकार प्राप्तीको अभियानमा एक ढिक्का भएर अघि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछु,’ शुभकामना सन्देशमा भनिएको छ, ‘सबै खाले लैंगिक विभेद र असमानता तोड्दै महिलाहरुको हक अधिकारको प्रत्याभूति गराउन सबैलाई श्रमिक महिला दिवसले प्रेरणा प्रदान गर्नेछन् भन्ने विश्वास व्यक्त गर्दछु ।’

उपसभामुख पोखरेलले लामो समयपछि नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले लैंगिक समानताका साथै राज्यका सबै निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरेको स्मरण पनि गरेकी छन् ।

उनले लैंगिक समानताका लागि हामी सबैको सोच व्यवहारमा पनि समानता झल्किनु पर्छ भन्दै राज्य तहबाटै सबैले प्रत्याभूत गर्ने गरि समान अवसर, समान सहभागीता र समान पहुँचको सुनिश्चितता गरिनुपर्नेमा जोड दिएकी छन् । ‘महिलाहरुको अवस्थालाई दृष्टिगत गरी निश्चित समयसम्म समावेशी समानुपातिक प्रणाली एवम् विशेषाधिकारको व्यवस्था हुनु उत्तिकै जरुरी छ,’ शुभकामना सन्देशमा उल्लेख छ ।