बराहक्षेत्रः शनिवार भरौल खानेपानी तथा सरसफाई उपभोक्ता समितिले दोस्रो साधारणसभा सम्पन्न गर्दैगर्दा रोचक परिदृश्य देखियो । बराहक्षेत्र ५ स्थित सिमरबनको आफ्नै कार्यालयमा सम्पन्न साधारणसभा हेर्दा साधारणसभा कम, राजनीतिक बक्तृत्वकला ज्यादा देखिन्थ्यो ।
नेपाल सरकार खानेपानी डिभिजनको सहयोगमा वि.सं. २०६५ सालमा स्थापना भएको भरौल खानेपानी संस्थानले एकपटक पनि वर्ष आय–व्यय सार्वजनिक सहितको साधारणसभा गरेको थिएन् । स्थानीय राजनीति दलका प्रतिनिधि, बुद्धिजीवी एबम् उपभोक्ताहरुको उपस्थितिमा शनिवार भएको कार्यक्रममा शुभकामना मन्तव्यको क्रम चलिरहेको थियो ।
यसैक्रममा बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ का अध्यक्ष रुद्र दाहालले राजनीतिक भाषा बोले । उनले भने, ‘नेकपा एमालेले गर्दा आज यस् समितिले साधारणसभा गर्न बाध्री भएको हो ।’ उनले अहिलेको कार्यसमितिलाई हेरफेर गर्नका निम्ति पनि समिति विघटन गर्नैपर्ने आदेशतात्मक भाषण गरे ।
तत्कालै बराहक्षेत्र ३ कै स्थानीय शिक्षाप्रेमी अमृत बहादुर खड्काले वडा अध्यक्ष दाहाललाई ‘काउन्टर’ दिंदै भने– ‘खानेपानीमा राजनीति नगरियोस् । भरौल खानेपानीलाई आजको अबस्थामा ल्याइपुर्याउन यहीँ समितिको देन छ, बिग्रेको भए उपचार गरौं तर विघटनको बाटोमा नजाऔं ।’
त्यस्तै, जनता समाजवादी पार्टी बराहक्षेत्र नगर कोषाध्यक्ष कमला थापाले भने मध्यमार्गी भएर अघि बढ्न आग्रह गरिन् । उनी यस् खानेपानी संस्थानकी निवर्तमान सचिव पनि हुन् । त्यसपछि राप्रपाका सुनसरी क्षेत्र नम्बर १ ख अध्यक्ष राम ठकुरीले १२ वर्षसम्म एउटै समिति रहनु उपयुक्त नभएको बताउँदै विघटन गरेर अर्को समिति आउनुपर्ने तर्क गरे ।
नेकपा एकीकृत समाजवादी नगर सचिव पुस्पराज धामीले १२ वर्षअघिको भरौलवासीले इनारको लेदो र दुषित पानी पिउनुपर्ने बाध्यतालाई भरौल खानेपानी संस्थानले दुर गरेको बताए । उनले भने –‘त्योबेलाको अबस्थादेखी आजसम्म आइपुग्दा यस् समितिले स्वच्छ पानी पियाउन सफल भएको कुरालाई स्विकार्नुपर्छ ।’ समिति विघटन गरेर जानू राजनीतिक आग्रह, पूर्वाग्रह मात्र रहेकाले यसको औचित्य नभएको उनको भनाइ थियो ।
माओवादी केन्द्र नगर सचिव अमित गौतमले समेत बिधमान समिति विघटन केहि दलहरुको व्यक्तिगत र राजनीतिक चाह मात्र रहेको बताए । समितिले आज भरौलमा गरिरहेको उन्नति र प्रगतिबारे उपभोक्ता सजग रहनुपर्ने बताउँदै उनले समिति विघटन मुख्य एजेन्डा नभएको जिकिर गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नगर सचिव प्रतीक राईले भने आफ्नो पार्टी विधि र विधानलाई आत्मसात गर्ने हुँदा खानेपानीको बिधानले भनेबमोजिम समितिले काम गर्नुपर्ने बताए । भरौलमा यहाँका बासिन्दाहरुले त्योबेला कति दुषित पानी पिउनुपर्ने बाध्याता थियो ? उनले थपे–‘आज घरघरमा पानी पुगेको श्रेय यहीँ समितिलाई दिन हिच्किच्याउनु हुँदैन ।’
त्यसपछि मञ्च चडेका नेकपा एमालेका नगर सचिव राजेन्द्र कार्कीले समितिले साधारणसभा गर्नुअघि सूचना नगरेको, आर्थिक प्रतिवेदन समेत चित्त नबुझ्दो भएकाले यस् समितिको विघटन नै आजको आवश्यकता गरेको बताए ।
इटहरी खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इन्जिनियर गोपिलाल भगतले भने यस संस्थानको समिति विघटन गर्न जरुरी नरहेको बताए । उनले भने–‘यस योजनाको सुरुवात भएको मितिले २० वर्षसम्ममा म्याद सकिन्छ र मात्र समिति विघटन गर्दा उपयुक्त हुन्छ ।’
कार्यक्रमकि विशिष्ट अतिथि १ नम्बर प्रदेश सांसद उमिता बराईलीले सार्वजनिक संस्थानमा राजनीतिक दल हावी हुनु दुःखद रहेको बताइन् । उनले भनेकी छन्–‘ नेकपा एमालेले आफ्नो पार्टीको प्रतिनिधि नभएकाले भरौल खानेपानीमा राजनीति गर्न खोज्यो ।’ उनले यद्यपि नयाँ समिति आएपनि भरौल खानेपानीको योजना पूरा गर्नमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
कार्यक्रम प्रदेश नम्बर एकका जलस्रोत तथा खानेपानी आपूर्तिमन्त्री रामकुमार राईको प्रमुख आतिथ्यता र संस्थानका अध्यक्ष पुष्प बस्नेतको सभाअध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले बिकास निर्माणमा एक ढिक्का भइ खानेपानी जस्तो संस्थामा राजनीति नगर्न आग्रह गरे ।
समितिले आयोजना गरेको दोस्रो चरणअन्तर्गत छलफल गर्दैगर्दा देबेन्द्र बिष्टले समितिको हिसाबकिताबबारे औंल्याए । त्यस्तै, हरि पौडेलले ११ वर्षसम्मको आर्थिक पारदर्शिताबारे छानबिन गर्न समिति गठन गरेर मात्र प्रतिवेदन पास गर्नुपर्ने बताए । मोहन सुबेदी, सुबास बस्नेत, गणेश बिष्ट, टेक बहादुर गौतम लगायतले समिति विघटन गर्नैपर्ने माग राखेका थिए ।
यता पुष्पा राईले भने खानेपानीमा राजनीति नगर्न आग्रह गर्दै भागबन्डा नपाएर कतिपयले विघटन गर्नुपर्ने भनिरहेको भएपनि यहि समितिलाई निरन्तरता गर्न आग्रह गरिन । दोस्रो चरणको अनौपचारिक छलफलले फाल्गुन २३ गते पुनः बैठक बसी निक्र्योल निकाल्ने बताइएको छ ।
कोषाध्यक्ष लक्ष्मण चौधरीले जारी गरेको आर्थिक प्रतिवेदनकाअनुसार धरौटी स्वरुप सङ्कलित रकम इटहरीको वाणिज्य बैक र कृषि बिकास बैकको मुद्धती खातामा राखिएको छ । त्यस्तै, विभिन्न १० वटा बैंकहरुमा गरि १ करोड, ४१ लाख, ४२ हजारं ५ सय ६ रुपैयाँ ४३ पैसा संस्थाको बैंक मौज्दात रहेको छ ।
अध्यक्ष पुस्प बस्नेतले जारी गरेको प्रतिवेदनमा बितरित धारा २ हजार ७ सय २३, लावान्भित जनसंख्या ११ हजार ७ सय ६३ र ९५ किलोमिटर मेनलाइन पाइप बिस्तार गरिएको छ । त्यसैगरी अहिले यस संस्थानबाट बराहक्षेत्र ३,४र५ वडाका २हजार ७सय २३ बढी घरधुरीहरु प्रत्यक्ष लाभान्वित बनिरहेका छन् ।
तत्कालीन भरौल गाविसमा उपलब्ध राजनीतिक दलको सहमतिमा तत्कालीन नेकपा माओवादीका नेता पुष्प बस्नेत अध्यक्ष हुनेगरी भरौल खानेपानी उपभोक्ता समिती गठन भएको थियो । विभिन्न कारणवश हाल समितिमा ७ पदाधिकारी मात्र रहेका छन् । हालसम्म विघटन नभएको समितिमा अध्यक्ष बस्नेत, उपाध्यक्ष तथा सचिव जगत बहादुर कार्की र कोषाध्यक्षमा लक्ष्मण चौधरी रहेका छन् । सदस्यहरुमा सुरेन्द्र शाक्य, पुजा धामी, नर्भदा पौडेल, इन्द्र राई, पदम श्रेष्ठ छन् ।