इटहरीः स्थानीय तहको निर्वाचनको रस्साकस्सी बजारमा चलिसकेको अवस्थामा अघिल्लो स्थानीय निर्वाचनमा धनकुटाको साँगुरीगढी गाउँपालिकाको मत परिणाम कस्तो थियो कसले कति मत ल्याएका थिए भन्ने झल्को हामीले हाम्रा पाठकलाई दिने जमर्को गरेका छौँ ।

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा धनकुटाको साँगुरीगढी गाउँपालिकामा कस्को बाहुल्य अर्थात बर्चस्व थियो भन्ने पाठकको जिज्ञासालाई पनि सम्बोधन गर्ने हाम्रो उदेश्य हो ।

साँगुरीगढीमा मुलत नेकपा एमाले, नेपाली काँग्रेस र संघीय समाजवादी फोरम अग्रपत्तिमा देखिएका थिए । त्यसबाहेक राप्रपा र माओवादी केन्द्रले पनि पछ्याएको प्राप्त मत परिणामले देखाउछ ।

साँगुरीगढी गाउँपालिकाको अध्यक्ष पदमा उठेका नेपाली काँग्रेसका जितेन्द्र रुम्दाली राईले ३ हजार ३ सय ३३ मत पाएका थिए भने बिजयी उम्मेद्धवार नेकपा एमालेका कुमार जँग याखाले ४ हजार ४ सय ४९ मत पाएका थिए । अघिल्लो परिणाम हेर्दा जितेन्द्रले १ हजार एक सय १६ मतले मात्रै अध्यक्षको दौडमा हारेका थिए ।

साँगुरीगढी गाँउपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनमा ६ जना अध्यक्षको आकांक्षी देखिएका थिए भने उपाध्यक्षमा पनि ६ जनानै भिडेका थिए ।

मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको टिकटबाट अध्यक्षमा उम्मेद्धवार बनेका जंग बहादुर राईले अध्यक्षको दौडमा सबैभन्दा कम मत ल्याए भने उनलाई पछ्याउँदै संघिय लोकतान्त्रिक राष्ट्रिय मन्चका चन्द्र सिंह लिम्बु नेम्वाङ्गले २२ मत ल्याएका थिए ।

अध्यक्षको दौडमा चौथो हुने राप्रपाका धर्मध्वज राईले ४७९ मत पाएका थिए भने नेकपा माओवादी केन्द्रका जगत बहादुर राईले ६९५ मत पाएका थिए ।

उता उपाध्यक्षको दौड पनि निकै मज्जाको देखिएको थियो । उपाध्यक्षको दौडमा बिजयी बिन्द्र राई नेकपा एमालेकी उम्मेद्धवार थिइन् भने उनलाई संघीय समाजवादी फोरम नेपालका बल बहादुर राईले पछ्याएको देखिएको छ ।

एमालेकी राईले ४ हजार २ सय ९ मत ल्याउँदा संघीय समाजवादी फोरमका राईले २ हजार २ सय ७० मत पाएको देखिन्छ । उपाध्यक्षकी उम्मेद्धवार सरस्वती लिम्बुले ८१७ मत ल्याएकी थिइन् । लिम्बु नेकपा माओवादी केन्द्रकी उम्मेद्धवार थिइन् । उता स्वतन्त्र लडेकी सानु माया लिम्बुले ४८ मत पाएकी थिइन् ।

उपाध्यक्षको दौडमा लडेका अन्य उम्मेद्धवारहरुमा संघीय लोकतान्त्रिक मञ्चकी गीता लिम्बु र राप्रपाकी संगीता लिम्बु हुन् । राप्रपाका संगीता लिम्बुले ४७३ मत ल्याउँदा संघीय लोकतान्त्रिक मञ्चकी गीता लिम्बुले जम्मा २२ मत पाएकी थिइन् ।