बराहक्षेत्रः बराहक्षेत्र नगरपालिकाको ८ नम्बर वडा अन्तर्गत जितपुर भन्ने स्थानमा सोही वडा अध्यक्ष फडिन्द्र प्रसाद भट्टराईमाथि अभद्र व्यबहार गरेको आरोपमा एक बृद्धालाई प्रहरीले पक्राउ गरेको छ । जितपुरेश्वर शिव मन्दिर समितिले आयोजना गरेको शिवरात्री विशेष कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथि बनेर गएका अध्यक्ष भट्टराईमाथि अभद्र व्यबहार गरेको आरोपमा ६९ बर्षीया बृद्धा पम्फादेवी कटवाललाई प्रहरीले पक्राउ गरेको हो ।
बुधबार साझ ४ बजेतिर सो कार्यक्रममा निम्ति वडाअध्यक्ष भट्टराई कार्यक्रम स्थलमा पुगेका थिए । स्रोतकाअनुसार अध्यक्ष भट्टराईले कार्यक्रमको फोटो खिच्न थालेका थिए । खिच्दै जाने क्रममा आरोपित कटवालको फोटो खिच्न लागे तर बृद्धा कटवालले आफ्नो फोटो नखिच्न आग्रह गरिन् । यद्यपि उनले पटकपटक आग्रह गर्दासमेत अध्यक्ष भट्टराईले नमानेपछि आरोपित बृद्वले थकेलिन् र विवाद सुरु भएको बताइएको छ ।
यस विवादको पछाडि भने दुई पक्षीय बीचमा पुरानो रिसीबी रहेको समेत बुझिएको छ । बृद्व पक्षधरकाअनुसार केहि समयअघि वडाअध्यक्ष भट्टराईले उक्त बृद्वको नातिको मृत्युपश्चात प्राप्त हुने जीवनबिमा वापतको रकम निकाल्नमा वडा कार्यालयबाट गलत प्रमाणपत्र दिई रकम हिनामिना गरेका थिए ।
सो बिषयमा निकै लामो समय बराहक्षेत्रमा आन्दोलन र नारावाजी समेत भएको थियो । उसबेला वडाअध्यक्ष भट्टराईलाई कानूनी कार्वाहीको माग गर्दै राजीनामा माग गरिएको थियो ।
यता, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष फेकु चौधरीले भनेका छन्, –‘अध्यक्षले आसनग्रहण गर्दैगर्दा ती बृद्वा पनि भजन कृतनमा उपस्थित थिइन् । उनले थपे, बृद्वले हातपात गरेको चाहिँ मैले देखिन ।’
यसैबीच सम्बन्धित वडाअध्यक्ष भट्टराईले आफूमाथि अभद्र व्यबहार भएको भन्दै ईलाका प्रहरी कार्यालय, चक्रघट्टीमा किटानी जाहेरी दिएका छन् । उनीमाथि आफ्नै वडावासी कटवालले अभद्र व्यबहार गरेको बताइएको छ । आरोपित कटवाल ६९ वर्षीया बृद्वा हुन् ।
किटानी जाहेरी दिएकै दिन साँझ साडे ६ बजेतिर सम्बन्धित बृद्वलाई इप्रका कार्यालय ल्याइएको थियो । फेरि १० बजे बराहक्षेत्र ६ नम्बर वडाका अध्यक्ष उद्दव पोखरेलको रोहबरमा छोडियो । तत्पश्चात् भोलिपल्ट बिहान ६ बजे नै इप्रका ल्याइएपछि अहिलेसम्म आरोपितलाई थुनामा राखिएको छ ।
बृद्वा कटवालका छोरा गोपालले भने यसबारे इलाकाले कुनै छलफल तथा मेलमिलापको लागि वातावरण समेत तय नगरिदिएको आरोप लगाए । उनले भने, २४ घन्टासम्म थुनामा राखेको छ तर एकपटक पनि छलफलको लागि माहोल बनाएन् । वडाअध्यक्षले आफूले बिगतमा गरेको कुकृत्य लुकाउन अहिले दम्भसहित आफ्नी आमालाई थुनाएको उनको आरोप छ ।
स्रोतका अनुसार आरोपित कटवाललाई म्याद थपका लागि जिल्ला प्रहरी कार्यालय लगिएको (समाचार तयार गर्दासम्म) गरिएको छ ।यसबारे सम्बन्धित वडाअध्यक्षसँग कुरा गर्नका निम्ति प्रदेशपोर्टलकर्मीले पटकपटक कोसिस गरिएपनि असफल भएको छ । किटानी जाहेरी दर्ता गरेपछि अध्यक्ष इटहरी रहेको र सम्पर्कमा समेत नआइरहेको स्रोतको भनाइ छ ।