बेलकाः स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुने निश्चित भएपछि उदयपुरको बेलका नगरपालिकामा चुनावी सर्गर्मी बढेको छ ।

बेलकामा राम्रो संगठन भएका दलहरु नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र०ले गाउँ–गाउँमा संगठन् बिस्तारको कामलाई तिब्रता दिएका छन् ।

बेलकामा अहिले एमालेबाट विजयी मेयर दुर्गाकुमार थापा छन् । अघिल्लो निर्वाचनमा एमालेले जितेको बेलकामा एमाले, कांग्रेस र माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यी ३ पार्टी बाहेक बेलकामा अन्य पार्टीको उपस्थिति त्यति बलियो छैन ।

एमालेमा ३, कांग्रेसमा ४ र माओवादीमा ३ जनाको नाम चर्चामा

आगामी स्थानीय तहको निर्वाचनमा बेलकामा नेकपा एमालेको तर्फबाट मेयरमा ३ जनाको मुख्य दावेदारी देखिन्छ ।
बर्तमान मेयर दुर्गाकुमार थापा पुनः मेयरमा दोहोरिने तयारीमा छन् । तत्कालिन ठोक्सिला गाविस अध्यक्ष हुँदै बेलकाको मेयर भएका थापा उदयपुरमा एमालेका प्रभावशाली नेता हुन् ।

त्यस्तै, एमालेबाटै धनपति आचार्य र उदय अधिकारीको नाम चर्चामा छ । आचार्य र अधिकारी दुवै नेकपा एमालेका प्रदेश कमिटी सदस्य हुन् । बेलकामा निकै बलियो संगठन् भएको अर्को दल हो नेपाली कांग्रेस । कांग्रेसबाट मेयरमा ४ जना आकांक्षी देखिएका छन् ।

बर्तमान मेयर थापासँग अघिल्लो निर्वाचनमा पराजित भएका बर्तमान कांग्रेस नगर सभापति अशोक कार्की पुनः मेयरको उम्मेदवार बन्ने तयारीमा छन् ।

त्यस्तै, पार्टीका पूर्व नगर सभापति शुसिल सेढाई, तत्कालिन ठोक्सिला गाविस हुँदादेखि नै लामो समय पार्टीलाई नेतृत्व प्रदान गरेका कांग्रेसका पुराना नेता जय प्रसाद सुवेदी र पुराना कांग्रेस नेता बद्री सापकोटा कांग्रेसबाट मेयरका आकांक्षी देखिन्छन् ।

त्यस्तै, बेलकामा बलियो संगठन् भएको अर्को दल हो नेकपा माओवादी केन्द्र । अघिल्लो स्थानीय निर्वाचनमा बर्तमान मेयर थापाले ५ हजार ८ सय १८ मत ल्याएर विजयी हुँदा माओवादी केन्द्रका रमण भट्टराईले ४ हजार १ सय ३२ मत ल्याएका थिए । भट्टराई पुनः मेयरको उम्मेदवार बन्ने तयारीमा छन् । उनी पार्टी प्रदेश कमिटी सदस्य समेत हुन् ।

त्यस्तै, माओवादी केन्द्रबाटै बेलकाका बर्तमान पार्टी इन्चार्ज राकेश किराती र बर्तमान पार्टी नगर कमिटी अध्यक्ष मनोज तामाङ् पनि मेयरको आकांक्षी देखिएका छन् ।

सत्ता गठबन्धन मिलेर चुनावमा गए एमालेलाई अप्ठ्यारो

कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस) र जसपासहितको बर्तमान सत्ता गठबन्धन मिलेर चुनावमा गए बेलकामा नेकपा (एमाले) लाई निकै अप्ठ्यारो पर्ने देखिन्छ ।

अघिल्लो निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका बर्तमान मेयर थापाले कांग्रेसका कार्कीलाई ५५२ मतले पराजित गरेका थिए । थापाले ५ हजार ८ सय १८ मत ल्याएर विजयी हुँदा कांग्रेसका कार्कीले ५ हजार २ सय ६६ मत ल्याएका थिए ।

अघिल्लो निर्वाचनको नजितालाई हेर्दा बेलकामा एमाले, कांग्रेस र माओवादी केन्द्रबीच प्रतिस्पर्धा देखिन्छ । एमाले विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीले एमालेको करिब एक हजार भोट काट्ने आंकलन एमालेकै नेताहरुको छ । त्यसमाथि कांग्रेस र अघिल्लो निर्वाचनमा करिब ४ हजार मत ल्याएको माओवादी केन्द्र एकातिर हुँदा बेलकामा एमालेलाई थप अप्ठ्यारो पर्ने निश्चित छ ।