बराहक्षेत्रः साविक बराहक्षेत्र, भरौल, प्रकाशपुर, मधुवन र महेन्द्रनगर गाविसको समायोजनबाट बनेको नगरपालिका हो– बराहक्षेत्र नगरपालिका । सुनसरी जिल्लाकै ठूलो र कान्छो नगरपालिकाका रूपमा परिचित यस नगरमा ११ वडा रहेका छन् । ८ वटा वडामा तत्कालीन नेकपा एमालेबाट निर्वाचित अध्यक्ष छन् भने बाकी ३ वडामा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष छन् ।
स्थानीय चुनाव नजिकिँदै गर्दा यसपटक पनि ४ जना वडाअध्यक्षहरुले पुनः दाबेदारी इच्छा प्रकट गरेका छन् । यसैक्रममा ६ नम्बरका अध्यक्ष उद्वबप्रसाद पोखरेलले एकपटक फेरि वडाअध्यक्षमा चाहाना रहेको बताएका छन् । उनले यस् पाँच वर्षको अबधिमा आफ्नो वडावासीको हितमा काम गरेको र केहि अधुरा कामहरूलाई फत्ते गर्नुपर्ने भएकाले पुनः अध्यक्षमा इच्छा व्यक्त गरेको तर्क गरेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित बनेका अध्यक्ष पोखरेलले नेकपा एमालेका उमेदवार गजेन्द्र थापालाई २४ मतले पराजित गरेका थिए । पोखरेलले ८२४ मत पाउँदा थापाले ८०० मत प्राप्त गर्दै पराजित भएका थिए ।
८ नम्बर अध्यक्ष फडिन्द्रप्रसाद भट्टराईले भने पार्टीको मूल्यांकन र निर्णय नै आफूले मानेर जाने भएपनि व्यक्तिगत रूपमा आफू पुनः यसपटक अध्यक्षमा उठ्ने चाह रहेको बताए । ०७४ को स्थानीय चुनावमा नेकपा एमालेबाट निर्वाचित उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेस रत्न बहादुर राउत थिए । मतपरिमाणअनुसार भट्टराईले १९८८ मत प्राप्त गर्दा राउतले १४०२ मात्र मत पाएर उनी पराजित भएका थिए ।
त्यसैगरी ९ र १० नम्बर अध्यक्षहरु क्रमशः दिपक कुमार लिम्बू र महेन्द्र बहादुर खत्रीले पार्टीले आफ्नो कामको मूल्यांकन गर्नुपर्ने बताएका छन् । अध्यक्षद्वय लिम्बू र खत्रीले यस् पाँच बर्षीय अबधिमा आफूहरूले गरेको कामका कारण पुनः एकपटक अध्यक्षमा इच्छा राख्ने प्रष्ट पारे । लिम्बू र खत्री दुबै गत स्थानीय चुनावमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित अध्यक्ष हुन् । अध्यक्ष लिम्बूले आफ्ना प्रतिद्वन्दी नेपाली कांग्रेसका हरिनारायण चौधरीलाई २७२ मतले हराएका थिए भने चौधरीले ८०५ मात्र मत पाएका थिए ।
त्यस्तै, अर्का अध्यक्ष खत्रीले आफ्ना प्रतिद्वन्दी नेपाली कांग्रेसका नवराज बस्नेत लाई २३१ मतले पराजित गरे । खत्रीले ११९२ मत पाउँदा बस्नेतले ९६१ मात्र मत पाएका थिए ।
यता, १, २, ४, ५ र ७ नम्बर वडाका अध्यक्षहरु क्रमशः सुरेश श्रेष्ठ, हरिकृष्ण भट्टराई, आशाराम चौधरी, राजु अधिकारी, वीर बहादुर लिम्बूले भने पार्टीको निर्णयअनुसार अघि बढ्ने बताएका छन् । पार्टीको मूल्यांकनअनुसार जसले टिकट पाएपनि त्यसलाई स्विकार्ने उनीहरूको तर्क छ ।
त्यस्तै, ३ नम्बर अध्यक्ष रुद्र दाहाल र ११ नम्बर अध्यक्ष केदार बिष्टले भने यसपटक आफूहरूको दाबेदारी नरहने बताएका छन् ।