धरानः धरान वडा १७ सर्दुखोला किनारमा नयाँ बनेका सुकुम्बासीहरुका घर टहरा उठाउने जिल्ला प्रसाशन सहित सुरक्षा निकाय, राजनैतिक दलहरुको निर्णयप्रति नेपाली कांग्रेसका कार्यकर्ताहरुले आपत्ति जनाएका छन् ।
उनिहरुले उपमहानगरपालिकामा कांग्रेसको मेयर भएकोले चुनावको मुखमा सुकुम्बासीलाई भडकाउन कम्युनिष्टहरुले सुनियोजित चाल चलेको भन्दै आपत्ति जनाएका हुन् । कांग्रेस उपमहानगर समितिको सोमवार बसेको पूर्ण बैठकमा नगर सदस्यहरुले उक्त निर्णयको पार्टीले प्रतिरोध गर्नुपर्नेमा जोड दिए ।
बैठकको सभापतित्व गरेका पार्टी सभापति श्याम पोखरेलले छलफलमा उठेका विषय विचारनिय रहेको बताउँदै सुकुम्बासीका सवालमा उपमहानगरपालिका मेयर तिलक राई सहित वैठक बसेर उचित निर्णय गरिने बताए ।
उनले अहिले भैरहेको भूमिहिन अव्यवस्थित बसोबासलाई जग्गा दिने कामका बारेमा जानकारी समेत लिएर त्यस्लाई सार्वजनिक गरिने बताए । सभापति पोखरेलले भने ‘सधैनै चुनावका बेला सुकुम्बासीका कुरा चर्को रुपमा उठइने गरिन्छ तर त्यस्को दिर्घकालिन समाधान अहिले सम्म भएको छैन्, अब कांग्रेसले त्यस्को समाधान गर्ने कुरमा गम्भिर हुन्छ ।’
प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवको उपस्थितिमा आइतवार सुरक्षा निकाय सहितको सर्वपक्षीय बैठकले खोलाको बगर, सार्वजनिक जग्गा अतिक्रमण गरी २०७२ सालयता बसेका बस्तीलाई क्रमबद्ध रुपमा हटाउने निर्णय गरेको हो । बस्ति हटाउने कार्य वडा १७ बाट गरिने भएको हो । त्यहाँको देविथान, कालापानी लगायत खोलाहरुको किनारा, बहाव क्षेत्रमा रातारात घर टहरा बनिरहेकोले बताइएको छ । मेयर तिलक राईले अध्यक्षता गरेको बैठकमा उपमेयर मञ्जु भण्डारी सहित दलका स्थानिय नेताहरु सहभागी थिए ।
बैठका कांग्रेसका कार्यसमिति सदस्य तथा अव्यवस्थित बासोबास समन्वय समितिका सहसंयोजक आइतबहादुर लिम्बुले भने ‘नगरपालिकामा कांग्रेसको मेयर भएको बेला चुनावको मुखमा सुकुम्बासी हटाउने निर्णय गर्नुमा कम्युनिष्टहरुको कांग्रेसको विरोधमा सुकुम्बासी उचाल्ने चाल हो ।’ पार्टीले यो निर्णयको विरोधमा विरोध गर्नुपर्नेमा जोड दिदैं उनले भने ‘यो खेलमा वढा १७ का अध्यक्ष मनोज भट्टराईको हात छ ।’ सुकुम्बासी उठाउनेमा कांग्रेसको मेयरलाई देखाएर चुनावमा उनिहरुलाई आफ्नो पक्षमा ल्याउने यस्तो खेल खेलिएको उनको भनाई थियो ।
कांग्रेसका पूर्व सभापति किशोर राईले कोरोना महामारीले रोजगारीबाट समेत बञ्जित, पीडित सुकुम्बासीहरुलाई उनिहरुले दुःखले बनाएका घर भत्काएर थप अन्याय गर्न नहुने बताउँदै भने ‘त्यहाँबाट उनिहरुलाई हटाउन अघि वैकल्पिक बासोबासको व्यवस्था गरिनु पर्दछ ।’ उनिहरुलाई विकल्पको व्यवस्था गर्न वास्तविक भूमिहिन सुकुम्बासी पहिचान गरिनु पर्नेमा जोड दिदैं पार्टीको उपमहानगर समिति यसबारेमा गम्भिर हुन ध्यानाकर्षण गराए ।
पूर्व सभापति राईले उपमहानगरपालिका राजनैतिक संयन्त्रले सञ्चालन गरेकै बेला २०७२ सालमा आफ्नो संयोजकत्वमा गठित अव्यवस्थित बसोबास तथा भूमिहिन सुकुम्बासी व्यवस्थापन समितिले धरानका सुकुम्बासीहरुको पहिचान गरि लगत संकलन गरिसकेको बताउँदै भने ‘त्यसै बेला अब धरानमा सुकुम्बासीको नाममा अनाधिकृत अतिक्रमण गर्न पाउने छैन् भनिएको थियो ।’ तर, कोरोना महामारीले पीडितहरुलाई आश्रयस्थलबाट विना विकल्प विस्थापित गर्ने निर्णय अमानविय भएको बताए ।
तरुण दलका संयोजक नरसिंह राईले वडा १७ का सुकुम्बासी घर टहरी हटाउने नाममा त्यहाँ पहिले देखी बासोबास गरिरहेकाहरुलाई समेत हटाउन खोजिएको आशंका जनाउँदै ‘गरिबहरुले छाक टारेर आश्रयको लागि बनाएको घर हठात भत्काउने निर्णयको कडा विरोध गरिनु पर्दछ ।’ कांग्रेसका सल्लाहकार प्राडा गोपलप्रसाद भण्डारीले सुकुम्बासीलाई कम्युनिष्टहरुले भोट बैंकको रुपमा मात्र प्रयोग गर्दै आएकाले धरानमा यस्को ठोस समाधान नभएको बताउँदै भने ‘कांग्रेसले सुकुम्बासीलाई हटाउने होइन विकल्प दिएर ठोस समाधान गर्न गम्भिर हुनुपर्ने बेला आएको छ ।’