धरानः इटहरी उपमहानगरपालिका वडा नम्बर ५ तुलसा टोल बस्दै आएकी सुमित्रा तामाङ्ग धरान–१८ बुद्धचौक स्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा मृत फेला परेकी छिन् ।

२ दिन अघि एक जना पुरुषसँगै उक्त होटलको कोठा नं.१०९ मा रात बस्न गएकी महिलाको शव कोठामा देखेपछि होटलले प्रहरीलाई जानकारी गराएको पाइएको छ ।

महिलाको साथबाट उनको नागरिकता फेला परेको थियो । नागरिकताको आधारमा प्रहरीले परिवारसँग सम्पर्क गर्दा मृतकका छोरा छोरीले सुमित्राको सनाखत गरेका छन् ।

मृतकका छोरा र छोरीबाट शवको पहिचान भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार मृतकको स्थायी ठेगाना भने पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर –१ हो । ३९ वर्षीया तामाङ्गका श्रीमान् पूर्व भारतीय सेनामा रहेका र हाल बु्रनाईमा कार्यरत रहेको बताइएको छ । मृत्क भने विगत ४, ५ बर्ष देखि इटहरी उपमहानगरपालिका ५ तुलसा टोलमा बसोबास गर्दै आएको खुलेको छ ।

मृतकसँगै भेटिएको नागरित्ताको आधारमा मृतकका छोराछोरीलाई प्रहरीले धरान झिकाउन सफल भएको प्रहरीले बताएको छ ।

मृतकको अनुहारमा चोट देखिएकोले उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । दुई दिन देखि सोही कोठामा बस्दै आएका पुरुष अहिले फरार अवस्थामा रहेको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।
मृतकको शवको मुचुल्का उठाएर अहिले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृह लाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

मृतक सुमित्रा २ दिन अघि धरान उपमहानगरपालिका–१८, बुद्धचोकमा रहेको न्यु कान्तिपुर होटेलमा बस्न आएकी थिइन् । महिला परपुरुषसँगको सम्बन्धमा रहेको र कुनै विषयमा विवाद हुँदा हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।