इटहरीः खोटाङ्ग जिल्लाको बराहपोखरी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहितका पदाधिकारी र कर्मचारीले ऐनले तोकेको भन्दा बढि दरभाउमा भ्रमण भत्ता लिएको पाइएको छ ।

गाउँपालिकाका पदाधिकारी र कर्मचारीले अघिल्लो आर्थिक बर्षको बिभिन्न मितिमा बिभिन्न स्थानमा भ्रमण गरेको भन्दै पाउनु पर्नेभन्दा झण्डै ५० हजार बढि भुत्तानी लिएको पाइएको हो ।

नेपाल सरकारको भ्रमण खर्च नियमावली २०६४ अनुसार सरकारको कामको सिलसिलामा मुलुकभित्र आफ्नो कार्यलय समयभन्दा बाहिर भ्रमणमा वा काजमा खटिएका पदाधिकारी वा कर्मचारीले नियमानुसार दैनिक भ्रमण भत्ता पाउने व्यावस्था छ तर बराहपोखरी गाउँपालिकाका पदाधिकारी र कर्मचारीले भने नियमावलीमा तोकिएभन्दा बढी दरमा भत्ता भु्त्तानी लिएको खुलेको छ ।

आर्थिक बर्ष २०७६/०७७ मा ३६ पटक गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्ष सहितका पदाधिकारी र कर्मचारीले तोकिएभन्दा बढी दरको भ्रमण भत्ता बुझेका हुन ।

यसरी बढी भ्रमण भत्ता बुझ्नेमा आईटिका सुजिव तामाङ्गले बिभिन्न मितिमा बिभिन्न स्थानमा भ्रमण गरेको देखाएर दैनिक १ हजार ७ सय ६० रुपैयाँले भत्ता पाउनु पर्नेमा १ हजार ९ सय २० रुपैयाँका दरले भत्ता लिएका छन् भने नायव सुव्वा पुष्पराज राईले दैनिक १३२० रुपैयाँका दरले भत्ता पाउनु पर्नेमा १४४० रुपैँयाका दरले भत्ता बुझिलिएका छन् ।

गाउँपालिकाका पुर्व प्रमुख प्रशासकिय अधिकृत बसन्त न्यौपानेले बिभिन्न मितिका बिभिन्न स्थानमा १५ दिन भ्रमण गरेको देखाउँदै ऐन भन्दा २४०० बढि भत्ता बुझेका छन् । उनले दैनिक १ हजार ७ सय ६० रुपैयाँका दरले पाउनु पर्नेमा १ हजार ९ सय २० रुपैयाँका दरले भत्ता लिएका हुन ।

गाउँपालिकाका अध्यक्ष शालिकराम बन्जाराले बिभिन्न ठाउँमा २५ दिन भ्रमण गरेको भन्दै पालिकाबाट दररेट भन्दा ४ हजार बढि भत्ता बुझेका छन् भने उपाध्यक्ष गोमा मगरले पनि २१ दिन भ्रमण गरेको १९२० रुपैयाँका दरले ३४०० बढि भत्ता लिएकि छन् । कर्मचारी अरुण थापाले १३२० का दरले भत्ता लिनु पर्नेमा १४४० रुपैँयाका दरले भत्ता लिएका छन् भने कार्यलय सहयोगि शिवराज मगरले ११०० का दरले भत्ता पाउनु पर्नेमा दैनिक १२ सयका दरले भत्ता पाएका छन् ।

गाउँपालिकाले लेपा अगमसिहँ विश्वकर्मालाई १३२०ले भुत्तानी गर्नुपर्ने भत्ता १४४० ले भुत्तानी गरेको पाइएको छ भने कार्यलय सहयोगि कैलाश दाहालले पनि १२ सय रुपैँयाका दरले भत्ता पाएका छन् ।

यसैगरी वडा नम्बर ४ का वडा अध्यक्ष भुवलराज राईले १३२० र १२ सयका दरले भ्रमण भत्ता पाउनु पर्नेमा १९२० र १६०० कादरले भुत्तानी गर्दा ४ हजार १०० बढि भत्ता भुत्तानी गरिएको छ ।

कार्यलय सहयोगि शिवजी परियार, नायव सुव्वा पुष्पराज राईले क्रमश ११०० र १३२० का दरले दैनिक भत्ता पाउनु पर्नेमा १२०० र १४४० रुपैँयाका दरले भत्ता पाएका छन् ।

उता सिनियर अहेव सत्रुघन प्रसाद सेठले समेत १६८० रुपैयाँ बढि भत्ता लिएका छन् । अर्को भौचरबाट अध्यक्ष शालिकराम बन्जारा र गोमा मगरले १६०० रुपैँयाका दरले पाउनु पर्ने भत्ता समेत १७६० रुपैयाका दरले लिएको पाइएको छ । यसरी बन्जाराले ६ दिनको भ्रमण देखाएर ९ सय ६० रपैँया बढि भुत्तानी लिएका छन् ।

उता उपाध्यक्ष गोमा मगरले २० दिनको भ्रमण देखाएर ३२ सय रुपैयाँ बढि भत्ता लिएको पाईएको छ । गाउँपालिकाबाट तोकिएको दरभन्दा बढि भत्ता लिनेमा लेखापाल सुमन अधिकारी, वडा अध्यक्ष शम्भु निरौला, वडा अध्यक्ष दुर्गा वहादुर राई, प्रशासनका रमेश पोखरेल, कार्यपालिका सदस्य गणेश वहादुर परियार कार्यलय सहयोगि सुवास खत्रि र वडा सहायक जित वहादुर दाहाल समेत छन् ।

सो अवधिमा गाउँपालिकाले तोकिएको दररेट भन्दा बढि भत्ता भुत्तानी गरेर जम्मा ४९ हजार ३ सय ५२ रुपैँया सकेको छ । महालेखा परिक्षकको ५८ औँ प्रतिवेदनले उत्त सम्पुर्ण बढि भुत्तानी भएको रकम असुल उपर गर्न गाउँपालिकालाई निर्देशन दिइसकेको छ ।