विराटनगरः धनकुटाको पाख्रीबास नगरपालिका ६ स्थित भित्रि सडक खण्डमा गए राती पौने ८ बजे को २ त ७११ नं को ट्याक्टर ब्रेक फेल भई सडक साईडमा पल्टदा एक जनाको मृत्यु भएको छ ।

सो ट्याक्टरमा सवार रहेका पाख्रीवास ६ का ५२ बर्षीय बम बहादुर राई गम्भिर घाईते भई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको धनकुटा प्रहरीले जनाएको छ ।

यसै गरी हिजो राती साढे ११ बजे बिराटनगर महानगरपालिका ३ दुर्गा चोक स्थित भित्रि सडक खण्डमा को १४ प ९४५८ नम्वरको स्कुटी आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिदा स्कुटर चालकको मृत्यु भएको छ ।

सो दुर्घटनामा गम्भिर घाईते भएका स्कुटी चालक सप्तरी घर भई बिराटनगर ३ मा बस्दै आएका ३६ बर्षीय हरी भुजेलको उपचारको क्रममा नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
सवारी दुर्घटना सम्वन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।