इटहरीः सरकारको स्वामित्वमा रहेको संस्थान नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणमा आईपिओ निष्काशन प्रक्रियामा जाने संकेत गरेको छ ।

ऐनमा भएको व्यवस्था अनुरुप सर्वसाधारणमा शेयर बिक्रि गरी पव्लिक कम्पनीमा जाने तयारी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले संकेत गरेका छन् ।

नेपाल सरकारको पूर्ण स्वामित्वको नेपाल विद्युत प्राधिकरणलाई क्रेडिट रेटिङ्ग कम्पनी इक्राले गरेको अडिटमा ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । जसको अर्थ समयमै आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता रहेको भन्ने बुझिन्छ । यस्तो रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून जोखिम हुन्छ ।

इक्राले नेपाल विद्युत प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यवसायिक तथा वित्तीय जोखिमहरुको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा वाह्य वातावरणीय तत्वहरुलगायतको विश्लेषण गरेर रेटिङ्ग तयार गरेको हो ।

रेटिङ्गसंगै सार्वजनिक निकायहरुमध्ये डबल ए प्लस क्रेटिड पाउने प्राधिकरण पहिलो कम्पनी हो । क्रेटिड रेटिङले प्राधिकरणसँगको कारोबार सबै हिसाबले सुरक्षित रहेको देखाएकोले अब विश्व बैक , एसियाली विकास बैँक जस्ता दातृ निकायसँग ऋण लिन अथवा कारोबार गर्न प्राधिकरणलाई सहज हुनेछ ।

सरकारको जमानीका त्यस्ता निकायसँग कारोबार गरिरहेको प्राधिकरणले अहिले विश्व बैंक, एसियाली विकास बैंकजस्ता वहुपक्षीय विकास साझेदार निकायहरुबाट सरकारी जमानीमा ऋण लिंदै आएको छ,।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारको स्वीकृतिमा नेपाल विद्युत प्राधिकरण ऐनमा भएको व्यवस्था बमोजिम सर्वसाधारणलाई सेयर जारी गर्ने विषयमा पनि छलफल भइरहेको जानकारी गराएका छन् । ऐनमा भएको व्यवस्था अनुसार सेयर निश्कासन गर्न सरकारसँग सहमति लिएर प्रक्रिया अगाडि बढाइने घिसिङ्गले बताएका छन् ।

ऐनमा प्राधिकरणको सेयर पुँजी नेपाल सरकारले तोक्ने र प्राधिकरणले निश्कासन गरेको सेयरमध्ये नेपाल सरकारले खरिद गरी बाँकी रहेको सेयर मात्र सर्वसाधारण जनतालाई बिक्री गरिने व्यवस्था रहेको छ ।
यस अघिनै सरकारले प्राधिकरणको देस्रो वित्तीय पुनर्संरचनाअन्तर्गत सेयर निश्कासनका लागि सहमति दिइसकेको छ ।