इटहरीः विगत केही दिनदेखि जारी रुस रयुक्रेनको युद्धबाट प्रभावित नेपालीहरुको उद्धार का लागि सरकार र गैह्र आवासिय नेपाली संघ सम्मिलित उच्चस्तरीय संयन्त्र तयार भएको छ ।

भर्चुअल माध्यमबाट गैरआवासीय नेपाली संघको आयोजनामा भएको अन्तरक्रियामा युद्धको चपेटमा परेका नेपाली समुदायको उद्धार रसहयोगको लागि जर्मनीका लागि नेपाल राजदूत रामकाजी खड्काको अध्यक्षतामा “रुस – युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति“ गठन गरेको छ ।

गैरआवासीय नेपाली संघका युरोपस्थित राष्ट्रिय समितिहरु सम्मिलित समितिको संयोजकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा बद्री केसी रहेका छन् ।

समितिको सदस्य सचिवमा चेक रिपब्लिकाका डा चिरन्जिवी खड्का साथै सदस्यहरुमा जीवन केसी (पोल्याण्ड), हरि बहादुर मल्ल (युक्रेन), शिव कुमार भुर्रतेल (रुस), जया प्रसाद शिवाकोटी (स्लोभाकिया), नवराज पोखरेल (रोमानिया), सुरेन्द्र श्रेष्ठ (हङगेरी), यदुराम पन्थी (चेक रिपब्लिका), मिलन पन्त (जर्मनी), र प्रेस संयोजकमा चिरन शर्मा (यूके) रहेका छन् ।

छलफलबाट द्वन्द्व पिडितको लागि आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि डा बोधराज सुवेदीको संयोजकत्वमा एक उपसमिति समेत गठन गरिएको छ ।

अन्तरक्रियामा बोल्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले युक्रेन र रुसको द्वन्द्वबाट प्रभावित २२० जना नेपालीहरु दुतावासको सम्पर्कमा आएको जानकारी दिएका छन् । खड्काले ती नेपालीहरुको सहयोगको लागि दुतावासले नेपाली सरकार, स्थानिय संघसंस्थाहरुसँग समन्वय गरिरहेको बताए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले द्वन्द्वग्रस्त मुलुक युक्रेनमा रहेका नेपालीलाई नआत्तिन आग्रह गरेका छन् । “अप्ठ्यारो पर्दा ‘एनआरएनएले नेपालीलाई आपत पर्दा जहाँ पनि सहयोग गर्छ कसैले अभिभावकविहिन हुनु पर्दैन। हामी सहयोगका लागि तयार छौँ ।” अध्यक्ष पन्तले भने ।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा बद्री केसीले द्वन्द्वग्रस्त युक्रेनबाट नेपालीको उद्धार प्रक्रिया सुरु भइसकेको बताए । उनले सीमा क्षेत्रमा १ दर्जनभन्दा बढी एनआरएनएका स्वयंसेवक परिचालन गरिसकिएको जानकारी दिए ।

संघ अन्तर्गतको वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक समेत रहेका डा.केसीलाई एनआरएनएले युक्रेनको लागि समन्वयको जिम्मेवारी दिइएको छ।

गैरआवासीय नेपाली संघका महासचिव डा .हेम राज शर्माले संचालन गरेको कार्यक्रममा रुसको लागि कार्यवाहक नेपाली राजदुत सुशील घिमिरेले रुसमा बस्ने नेपालीहरुको अवस्था सामान्य रहेको जानकारी दिएका थिए । घिमिरेले युक्रेनमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्धारको लागि दुतावास आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ युक्रेनका अध्यक्ष हरि मल्लले युक्रेनमा रहेका नेपालीहरुको अवस्थाको बारे जानकारी गराए ।कार्यक्रममा विजया पाण्डे, जीवन केसी, सुरेन्द्र श्रेष्ठ, जया शिवाकोटी, नवराज पोखेरेल, आश्विन कुमार श्रेष्ठ, खगेन्द्र अधिकारी लगायतले आआफ्नो अनुभव सुनाएका थिए ।

 अन्तरक्रियामा सीमा क्षेत्रमा थप स्वयंसेवक परिचालन गर्ने, नेपाल फर्किन चाहनेहरुको लागि हवाई टिकटको लागि समन्वयन गर्ने, सीमा क्षेत्रमा आएका नेपालीलाई खाना बस्नको व्यवस्था गर्ने, कानुनी परामर्शको लागि एनआरएनए राष्ट्रिय समिति परिचालन, उद्धारको लागि स्थानिय रुपमा संयन्त्र गठन गर्ने, स्वयंसेवकहरुको लागि आवश्यक परिचयपत्र प्रदान गर्ने, आर्थिक संकलन गर्ने जस्ता गतिविधि तत्काल अघि बढाउन उच्चस्तरीय समितिलाई आग्रह गरेको छ ।

युक्रेनको द्वन्द्व प्रभावित नेपालीहरुलाई पोल्याण्ड, हङगेरी, रोमेनिया, माल्डावा र स्लोभागिकयाको सीमामार्फत उद्घार थालिएको छ। हाल सम्म नेपाली दूतावास जर्मनी र एनआरएनएसँग ४ सय जना नेपालीहरु सम्पर्कमा आएका छन् ।