रामधुनीः नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरी जिल्ला कमिटी अध्यक्ष रेवती रमण भण्डारीले नेकपा (माओवादी) पार्टी अब इतिहासको कथा बन्ने दावी गरेका छन् ।
शनिबार रामधुनीमा युवासंघको एक कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले आगामी चैत्रसम्ममा सुनसरीका करिब आधा माओवादी नेता–कार्यकर्ता एमाले प्रवेश गर्ने तयारीमा रहेको दावीसमेत गरे ।
‘माओवादी भन्ने पार्टी इतिहासमा विद्यार्थीहरुलाई पढ्नका लागि काम लाग्नसक्छ, राजनीतिमा काम लाग्दैन ।’ उनले भने, ‘अन्तको म कुरा गर्दिन, सुनसरीमा चैत्र महिनासम्म माओवादीका आधा नेता–कार्यकर्ता एमालेमा आउँदै हुनुहुन्छ ।’
लोकतन्त्र, आवधिक निर्वाचन, विधिको शासन, गरिबी निवारण, समाजवाद जस्ता एजेण्ड एमालेसँगै भएपछि अन्य कम्युनिष्ट पार्टीको दोकान खोल्नुको कुनै औचित्य नहुने भण्डारीको भनाई छ ।
फरक प्रशंगमा बोल्दै अध्यक्ष भण्डारीले गत निर्वाचनमा पराजय बेहोर्नुपरेको रामधुनी नगरपालिकामा यसपटक ३ हजार भोटले चुनाव जित्ने पनि ठोकुवा गरे ।
‘रामधुनीमा जसरी संगठन् बिस्तारलाई तिब्रता दिनुभएको छ, त्यसमा म शुभकामना दिन चाहन्छु । अब चाडैँ रामधुनी नगर स्तरिय प्रशिक्षणा राख्नुपर्छ ।’ उनले भने, ‘तपाईहरु टोल–टोलमा कमिटी बनाउँनुहोस्, हामी रामधुनीमा सानदार ३ हजार मतले चुनाव जित्छौँ । यो मेरो मात्र प्रतिबद्धता होइन, तपाईहरुको पनि हो ।’