बराहक्षेत्रः भरौल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो साधारणसभा फाल्गुन २१ हुने भएको छ । समितिका अध्यक्ष पुष्प बस्नेतका अनुसार १२ वर्षअघि स्थापित खानेपानी संस्थानले आर्थिक वर्ष २०७२/०७३ मा आर्थिक प्रतिवेदनसहितको उपभोक्ता भेला गरिसकेको हुनाले दोस्रो साधारणसभा हुन लागेको हो । समितिको हिसाबकिताब सार्वजनिक विषयमा यसअघि नै टोल समिति, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी तप्काहरुसँग छलफल गरिसकेको छ ।
समितिको आय–व्यय सार्वजनिकसहितको आर्थिक प्रतिवेदन पेश हुने भएकाले पनि संस्थानको वर्तमान समितिलाई विघटन गर्नुको औचित्य नरहेको अध्यक्ष बस्नेतको तर्क छ । यद्यपि यहाँका राजनीति दल, बुद्धिजीवी, खानेपानी डिभिजन कार्यालय इटहरी तथा स्थानीयहरुको छलफलबाट आउने निर्णय आफूलाई सर्वमान्य हुने अध्यक्ष बस्नेतले बताए । उनले भनेका छन्, ‘समितिमा पदाधिकारीहरुको सिट खाली छ, त्यसलाई परिपूर्ति गर्न सकिन्छ तर समिति पूरै विघटन गर्न जरुरी देखिदैन् ।’
स्थापनाकालदेखीनै आय–व्यय सार्वजनिक नगरेको आरोप ब्यहोर्दै आएको संस्थानले आफूहरू अर्को ट्याङ्की (बोरिङ)को लागि जग्गा उपलब्ध गराउने प्रक्रियामा ढिलो भएको दाबी गर्दै आएको छ । साधारणसभा नगरे पनि २०६८ सालयता प्रत्येक वर्ष अडिट गरिसकेको र ०७६/०७७ को फाइनल अडिट गर्ने क्रममा रहेको अध्यक्ष बस्नेतले जिकिर गरे ।
खानेपानीमा अनुमानित १८ करोड ९० लाख बराबरको लागत लागेको थियोे भने उपभोक्तामाझमा धरौटी स्वरुप लगभग ५० लाख सङ्कलन गरिएको समिति स्रोतले जनाएको छ । स्रोतअनुसार धरौटी स्वरुप सङ्कलित रकम इटहरीको वाणिज्य बैक र कृषि बिकास बैंकको मुद्धती खातामा राखिएको छ ।
अहिले यस संस्थानबाट बराहक्षेत्र ३, ४ र ५ वडाका २ हजार ७ सय बढी घरधुरीहरु प्रत्यक्ष लाभान्वित बनिरहेका छन् । ७ सदस्यीय समितिको अध्यक्ष बस्नेत, उपाध्यक्ष तथा सचिव जगत बहादुर कार्की र कोषाध्यक्षमा लक्ष्मण चौधरी रहेका छन् । त्यस्तै, सदस्यहरुमा सुरेन्द्र शाक्य, पुजा धामी, नर्भदा पौडेल, इन्द्र राई, पदम श्रेष्ठ छन् ।