इटहरीः इटहरी उपमहानगरपालिकाको बढि जनघनत्व रहेको वडा मध्ये हो वडा नम्बर २ । सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३० गतेलाई घोषणा गरिसकेको अवस्थामा अघिल्लो स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकाको २ नम्बर वडामा अघिल्लो स्थानीय तहको चुनावमा कस्तो प्रतिफल आएको थियो ? कसले कति मत ल्याएका थिए ? भन्ने पाठकको जिज्ञासालाई हामीले मत्थर बनाउने प्रयास गरेका छौँ ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा १० जनाले वडा अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । दशमध्ये २ जना स्वतन्त्र उम्मेद्धवार थिए भने बाँकी ८ जना बिभिन्न राजनितिक पार्टीबाट टिकट पाएर वडा अध्यक्षको प्रतिस्पर्धामा उत्रिएका थिए ।

स्वतन्त्र उम्मेद्धवार बनेका उमेश श्रेष्ठ र अमृत बहादुर मगर थिए । स्वतन्त्र उम्मेद्वारद्धयले क्रमश २७ र ९६ मत पाएका थिए भने १० जनामा सबैभन्दा कम मत पाउने नेकपा माओवादीका उम्मेद्वार मिलन कुमार बास्तोला रहेको थिए । बास्तोलाले जम्मा १७ मत ल्याएका थिए ।

बास्तोला पछि कम मत प्राप्त गर्नेमा मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका उम्मेद्धवार नर बहादुर तामाङ्ग छन् । तामाङ्गले अघिल्लो स्थानित तहको निर्वाचनमा २० मत ल्याएका थिए भने संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका सुरेन सुव्वाले २६ मत प्राप्त गरेका थिए ।

एता खम्बुवान राष्ट्रिय मोर्चा नेपालका राकेस राईले ५४ मत प्राप्त गरेका थिए । राप्रपाका लक्कु धामीले १ सय २८ मत प्राप्त गरे भने दुर्गा बहादुर गुरुङ्ग संघीय समाजवादी फोरम नेपालबाट इटहरी वडा नम्बर २ को अध्यक्षको प्रतिस्पर्धामा थिए । गुरुङ्गले १ सय ५० मत ल्याएका थिए ।

इटहरी २ को कडा प्रतिस्पर्धा नेपाली काँग्रेस र नेकपा एमालेबिच भएको देखिन्छ । नेपाली काँग्रेसका दिपेन्द्र घिमिरेले १ हजार ९ सय ६७ मत ल्याएर धेरै मत ल्याएर हार्ने प्रतिस्पर्धी दर्जिए भने नेकपा एमालेका हर्क बहादुर मगरले २ हजार २ सय १८ मत ल्याएर वडा अध्यक्ष बने ।

अवको चुनाव बैशाख ३० गते घोषणा भएको सन्दर्भमा फेरी चुनावी चहलपहल शुरु भएको छ । कसले बाजी मार्ने भन्ने चर्चा बजारमा चर्किएको छ भने एक पार्टीले अर्कोलाई दोष देखाएर आफुलाई विकासवादी देखाउन जोडतोडले लागेको पाइन्छ ।