विराटनगरः जिल्ला प्रहरी कार्यालय संखुवासभा मातहतमा रहेको प्रहरी चौकी टुटे देउराली र जिल्ला प्रहरी कार्यालय तेह्रथुम मातहत रहेको प्रहरी चौकी जिरिखिम्तीको नवनिर्मित कार्यालय भवनको उद्घाटन भएको छ ।

चौकीहरुको हाता भित्र सुक्रबार भएको कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले उक्त नवनिर्मित प्रहरी चौकी टुटे देउराली संखुवासभा र प्रहरी चौकी जिरिखिम्ति तेह्रथुमको साढे २ तले भवनहरुको बिधिवत रुपमा उद्घाटन गरेका हुन् ।

नेपाल सरकारबाट विनियोजित २ करोड ६ लाख ३१ हजार ३ सय ३२ रुपैयाँको लागतमा प्रहरी चौकी टुटे देउराली र प्रदेश सरकारबाट बिनियोजित १ करोड २५ लाख ९२ हजार ९४ रुपैयाको लागतमा भवनको निर्माण कार्य सम्पन्न भएको हो ।
भवनको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक बिसीले गाँस बाँसको उचित ब्यवस्था भएसंगै प्रहरी कर्मचारीहरुमा काम गर्ने थप हौसला मिल्ने बताए ।

उनले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधीमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए । कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक बि।सी।ले भवन निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्नुहुने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रद्वारा सम्मान समेत गरेका थिए ।