इटहरीः मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नम्बर ८ कि १२ वर्षीया बालिका करुणा राईको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ ।
बालिकाको शव लेटाङ्गकै लालहीरा सामुदायिक वनभित्र शुक्रबार बिहान फेला परेको थियो । प्रहरीले बलात्कार पछि बालिकाको हत्या गरेको आरोपमा एक जना वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ्ग ८ का ६४ बर्षिय वृद्ध दिपक गिरी रहेका छन् ।
जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत बालिका गत बुधबार देखि हराएकी थिइन् । बालिकालाई गिरीले विद्यालयबाट एक्लै घर फर्किने क्रममा गिरीले नियन्त्रणमा लिएर बलात्कार गरेको प्रहरीले बताएको छ ।
बलात्कार पछि घटनामा आफ्नो नाम जोडिने डरले गिरीले ढुङ्गाले हानेर बालिकाको हत्या गरेको प्रहरी अनुसन्धानले खुलेको छ । गिरीले हत्यापछि शव एकान्त खोँचमा फ्यालेर माथिबाट ढुङ्गाले छोपिदिएकोे स्वीकार गरेका छन् । बालिकाले स्कुल जाँदा लगाएको पोसाक घरनजिक ल्याएर जलाएको पाइएपछि गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको थियो ।
सोधपुछका क्रममा गिरीले सुरुमा केही दिनअघि मृत्यु भएकी आफ्नी पत्नीको कपडा जलाएको बताएका थिए तर कपडा जलाएको ठाउँमा स्कुलको छाप हानिएको बेल्ट (पेटी) को कब्जा र जल्न बाँकी जुत्ताको भाग भेटिएपछि शंकाको घेरामा तानिएका उनलाई सोधपुछ पछि घटना स्वीकार गरेको प्रहरीको भनाई छ । प्रहरीले शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ भने गिरीविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा चलाउने भएको छ ।