इटहरीः मंगलबार भएको छुट्टा छुट्टै सडक दुर्घटानमा कोशी गाउँपालिका र मेचिनगर नगरपालिकामा एक एक जनाको मृत्यु भएको छ ।

प्रदेश प्रहरी कार्यालय बिराटनगरले दिएको जानकारी अनुसार सुनसरीको कोशी गाउँपालिका–८ भण्टावारी स्थित पूर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कोशी गाउँपालिका–८ का ६० वर्षीय भरत सहनी रहेका छन् ।

मंगलबार बेलुकी पौने ५ बजे प्रदेश २–०३–००१ नम्बरको ट्रकको ठक्करबाट घाईते भएका साइकल यात्री सहनीको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक सर्लाही लालबंदीका ५४ वर्षीय लासाङ दोर्जे जिम्वालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
त्यसैगरी गरी झापाको मेचीनगर नगरपालिका–७ स्थित राजमार्गमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

गए राती पौने ८ बजेको समयमा पैदल यात्री मेचीनगर–८ का १९ वर्षीय श्याम मगर र १७ वर्षीय बल बहादुर मगरलाई मे.१० प २२३२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका दुवै जनालाई उपचारका लागि झापाको विएण्डसी हस्पिटल लगिएको थियो । उपचारको क्रममा घाइते श्याम मगरको मृत्यु भएको छ भने अर्का बलबहादुरको उपचार भइरहेको छ ।

ठक्कर दिने मोटरसाईकल र चालक मेचीनगर–१० का अभिजित सिटौलालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।