इटहरीः धरान भेडेटार सडक खण्डको जंगलमा जेब्रा झोलामा टुक्रा टुक्रा शरीर भेटिएको लाशको पहिचान अन्तत ६ दिन पछि खुलेको छ ।
कोशी लोकमार्ग अन्तर्गत धरान भेडेटार सडक खण्डको जंगलमा भेटिएको शव दमकका दिनेश सिग्देलको रहेको प्रहरीले बताएको छ ।
शवको पहिचान गर्न प्रहरीले स्केच तयार गरी सर्वसाधारणको सहयोग मागेको थियो । गएको बुधवार र बिहीबार अलग अलग झोला र स्थानमा भेटिएको जेब्रा झोला भित्रको शवको करिब ६ दिन पछि सनाखत भएको हो शवको पहिचान खुल्ने कागजपत्र घटना स्थलमा नभेट्दा प्रहरीलाई लाशको पहिचान गर्न हम्मेहम्मे पर्यो तर ६ दिन पछि निरन्तर अनुसन्धानमा लागेको प्रहरीले मृतकको शवको सनाखत गरेरै छाड्यो ।
मृतको अनुहार नै क्षतविक्षेत बनाइएको कारण झनै पहिचानमा समस्या भएको थियो । प्रहरीले हाल आएर मृतक झापा जिल्लाको दमक नगरपालिका वडानं. ५ उल्लेख भएका दिनेश सिग्देल भएको प्रहरी सनाखतबाट खुलेको छ ।
सिग्देलको हत्या पारिवारिक कारणबाट भएको खुल्न आएको प्रहरीको भनाई छ । सिग्देलका दुई जना श्रीमति रहेको र दुवै श्रीमति अलग अलग बस्ने गरेको समेत अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।
बैदेशिक रोजगारीका लागि बहराइनमा रहेका सिग्देल गत जनवरी ४ मा नेपाल आएका थिए । उनको धरान बाहिर हत्या गरेर धरान–४ स्थित धरान भेडेटार सडक खण्डको जङ्गलमा ल्याएर दुई वटा झोलामा राखेर फालिएको प्रहरीको अनुसन्धानले बताएको छ ।
हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको धरान प्रहरीले बताएको छ ।शवको सनाखत भएसँगै दुई जना पक्राउ परेका हुन् । हत्यामा संलग्न रहेको आशङ्कामा मृतककै कान्छी श्रीमती र अर्को एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । तर प्रहरीले थप अनुसन्धान गरिरहेकोले घटनाको बारेमा अहिले सम्म विस्तृत जानकारी भने दिएको छैन ।
अलग अलग झोला र स्थानमा टुक्रा टुक्रा भेटिएको शवको निकै लामो समय सम्म सनाखत हुन नसक्दा इलाका प्रहरी कार्यालय धरानले मृतकको स्केच तस्बिर र हुलिया सार्वजनिक गर्नुका साथै सूचना प्रसारण गरेको थियो ।
मृतकको शव धरान–भेडेटार सडक खण्डको जेठामाने गोलाई नजिक जङ्गलमा गोठाला र दाउरा खोज्न जानेले जेब्रा झोला देखेको र सो झोलाबाट दुर्गन्ध आएकोले शङ्का लागि प्रहरीलाई बताएका थिए ।
प्रहरीले झोला खोलेर हेर्दा मानिसको टाउको र दाहिने खुट्टा फेला परेको थियो । त्यसको भोलिपल्ट बिहीबार बिहान प्रहरीले फेरी अर्को जेब्रा झोलामा बाँकी शरीर पहिले टाउको र खुट्टा भेटिएको स्थान भन्दा करिब १ किलो मिटर माथि जङ्गलमा फेला पारेको थियो ।