बराहक्षेत्रः राष्ट्रिय प्रजातन्त्र पार्टी, सुनसरीका नेताहरु कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भएका छन् । राप्रपा सुनसरीका विभिन्न तहमा रहेका ६ जना नेताहरु राप्रपा नेपालको केन्द्रिय सदस्यमा मनोनीत भएको खुलेको हो ।
मनोनीत हुनेहरुमा सुनसरी क्षेत्र नम्बर २ का अध्यक्ष दुर्योधन निरौला, पार्टीका पूर्व केन्द्रिय सदस्यद्वय हरिकृष्ण श्रेष्ठ र शंकर थापा (गाउले), पुर्व जिल्ला सचिव खेमराज ओझा, गोपालप्रसाद कोइराला र सुरेस आचार्य रहेका छन् ।
यसैबीच चन्दन चौधरी समेत केन्द्रिय सदस्यमा मनोनीत भएको भनिएपनि चौधरीले आफू राप्रपा नेपालमा नगएको बताएका छन् । राप्रपा जिल्ला अध्यक्ष दुर्गाबहादुर बस्नेतका अनुसार पार्टीको आज बसेको बैठकमा चौधरीले यस्तो बताएका हुन् । अध्यक्ष बस्नेतले भनेका छन्, ‘आजको बैठकमा चन्दन चौधरीले आफूलाई कसैले नसोधी राप्रपा नेपालमा नाम राखिदिएको भन्नुभएको छ ।’
त्यस्तै, हिजो पार्टीको आन्तरिक चुनाव हारेका, पुर्व केन्द्रीय सदस्यहरु र पार्टीमा निष्क्रिय व्यक्ति मात्र कमल थापासँग मिल्न गएको अध्यक्ष थापाले स्पष्ट पारेका छन् । आज बसेको जिल्ला बैठकले बराहक्षेत्रका दिपक अधिकारीलाई कोषाध्यक्षमा चयन समेत गरेको छ ।