इटहरीः मोरङको केराबारी गाउँपालिका ८ का २६ वर्षीय बाबुराम भट्टराईको हत्यामा संलग्न पक्राउ परेका छन् । पक्राउ पर्नेमा उनकै नजिकको साथी केराबारी ३ रामपुरका ३४ वर्षीय कमल लिम्बु छन् । मृतक र लिम्बु रामपुरका उमेश श्रेष्ठको केराबारी–भोगटेनी–रामपुरको रुटमा चल्ने सार्वजनिक बसका सहचालक हुन् ।

लिम्बुलाई १ नं. प्रदेश प्रहरीको आरआईटी, जिल्ला प्रहरी कार्यालय मोरङ र बेलबारी प्रहरीको संयुक्त अनुसन्धान टोलीले पक्राउ गरेको हो । लिम्बुले रड प्रहारबाट भट्टराईको हत्या गरि रुखको जराभित्र शव लुकाएको प्रहरी समक्ष स्वीकार गरेका छन् ।

limbu

घटना पुस २८ गते राती भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अनुसार दुवैजना २८ राती सँगै मापसे गरेका थिए । पछि दुवैबीच विवाद हुँदा लिम्बुले भट्टराईको टाउकोमा रड प्रहार गरेका थिए । रड प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको र पछि लिम्बुले एक्लै बोकेर शवलाई चारकोसे जङ्गलमा ढलिरहेको रुखको जराभित्र लुकाएका थिए । पछि ९ दिनपछि घाँस दाउरा गर्न गएका स्थानीयले शव भेटाएर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीको संयुक्त अनुसन्धान टोलीले हाल पक्राउ परेका लिम्बुलाई यस अघिपनि अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो । प्रमाण अपुग भएका कारण उनलाई छाडेर प्रहरी निगरानीमा राखिएको थियो ।

अहिले हत्यामा प्रयोग भएको रड र रगत लतपतिएको कपडासमेत प्रहरीले बरामद गरेपछि उनलाई शुक्रबार पक्राउ गरिएको थियो । हत्यामा संलग्न लिम्बुलाई म्याद थप गरि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।