इटहरीः गत माघ २५ गते सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नम्बर १५ स्थित युनाईटेड गुर्खा एकेडेमी स्कुल अगाडी भएको अमानविय घटनाको समाचार सम्प्रेसण गरेको भन्दै बम प्रहारको धम्की दिने मनोज विकलाई नेपाल पत्रकार महासंघ मोरङ्गले कारवाहीको माग गरेको छ ।

पत्रकार महासंघ मोरङ शाखाले शनिवार एक विज्ञप्ती जारी गर्दै समाचार सम्प्रेसण गर्ने विराटनगर स्थित कोसी अनलाईन न्युज पोर्टलको कार्यालयमा बम प्रहारको धम्की दिने घटना प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

धरानको पसलमा चोरी गर्न खोजेको आरोपमा एक युवालाई सार्वजनिक स्थलमा डोरीले बाँधेर निर्घात कुटपिट गरेको विषयमा समाचार प्रकाशित भएपछि मनोज विक नाम गरेका व्यक्तिले शुक्रबार फागुन ६ गते बम पड्काउने धम्की दिँदै अनलाईनको पेजमा अडियो म्यासेज गरेका थिए भने विकले अन्य व्यत्तिहरु मार्फत फोन लगाई अनलाईनको कार्यलयमा धम्की दिएका थिए ।

पत्रकार महासंघ मोरङका सचिव नेत्र पि अधिकारीद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा प्रकाशित समाचार तथा प्रयोग भएको सामाग्री प्रति चित्त नबुझे कानुनी उपचारमा जान सकिने विकल्प हुँदाहुँदै पत्रकारलाई धम्काउनु , कार्यलयमा बम प्रहार गर्छु भन्ने अभिव्यत्ति दिनु प्रेस विरोधी हर्कत भएकाले दोषी उपर कडा कारवाही गर्न माग गरिएको छ ।