इटहरीः भिर र रुखबाट लडेर ओखलढुंगा र मोरङ्ग जिल्लामा दुई जना महिलाको मृत्यु भएको छ । प्रदेश एक प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका वडा नम्बर –४ मा भिरबाट लडी १ जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोलुङ–४ घले गाउँका ईन्द्र सुनुवारको ३८ बर्षीया श्रीमती मिना सुनुवार रहेको प्रहरीको भनाई छ । सुनुवार हिजो बेलुकी पौने ४ बजे गुठी पाताल जंगलबाट घाँस काटी घर तर्फ फर्कदै गर्दा भिरबाट लडी घाईते भएकि थिइन । सुनुवारलाई उपचारको लागि तत्काल मिसन अस्पताल ओखलढुंगा लगिएको भएपनिप उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको प्रहरीको भनाई छ ।
घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट थप अनुसन्धान भईरहेको छ । त्यसैगरी मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नम्बर –६मा रुखवाट लडी १ जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मिक्लाजुङ गाउँपालिका–६ का मान बहादुर मगरको ४६ बर्षीया श्रीमती बुद्धमाया मगर रहेको प्रहरीको भनाई छ । मगर शुक्रबार बिहान साढे ११ बजे आफ्नै बारीमा रहेको टाँकीको रुखमा चढी घाँस काट्ने क्रममा रुखबाट लडी घाईते भएकी थिइन् । उनलाई उपचारको लागि बिराटनगर स्थित बिराट नर्सिङ होममा ल्याइएको भएपनि उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय मधुमल्लाबाट थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।