इटहरीः प्रहरीले झपा जिल्लाको बिर्तामोडमा बम जस्तै देखिने शंकास्पद प्रेसर कुकर राख्ने समुहका नौ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
बिर्तामोड बसपार्क र दमक स्थित सिवान चर्चमा बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर राख्ने समुहका व्यक्तिहरुलाई फरक फरक मिति र बिभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।
पक्राउ परेका व्यत्तिहरुलाई सार्वजनिक गर्दै प्रहरीले गौरादह नगरपालिका वडा नम्बार –२ का ३८ बर्षीय सुमन कुमार कार्की मुख्य योजनाकार रहेको बताएको छ । घटनामा संलग्न अन्यमा झापा जिल्लाको कन्काई नगरपालिका वडा नम्बर –३ का ४१ बर्षीय भिष्म थापा, दमक नगरपालिका वडा नम्बर–९ कि ५० बर्षीया देवी बास्कोटा (गुरागाई), कनकाई नगरपालिका वडा नम्बर ४ स्थित कोटीहोममा पुजारी काम गर्ने ५८ बर्षीय कुमार भन्ने यमदत्त सिटौला, शिवसताक्षी नगरपालिका वडा नम्बर –१ का ३२ बर्षीय सरुण लिम्वु भन्ने दिल कुमार सामेखाम रहेका छन् ।
त्यसैगरी संखुवासभा जिल्ला खाँदवारी नगरपालिका वडा नम्बर –१० घर भई हाल सुन्दरहरैचा–६ मोरङ बस्ने २९ बर्षीय मनमोहन दहाल, झापा गौरिगञ्ज गाउँपालिका वडा नम्बर –३ का ३२ बर्षीय आन्द भन्ने अनन्त प्रसाद गिरी, गौरादह नगरपालिका वडा नम्बर –५ का ३३ बर्षीय प्रदीप थापा र गौरीगञ्ज गाउँ पालिका वडा नम्बर ३ का ४५ बर्षीय बिजय कुमार दास हलुवाई रहेका छन ।
यो समुहले झापाको विर्तामोड नगरपालिका वडा नम्बर –४ स्थित पश्चिम बस स्टेण्डमा मिति गत माघ ०९ गते बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर राखेर छाडेका थिए उनिहरुले हिमाल सुरक्षा परिषद्को नामको पर्चाहरु फेला परेको थियो । प्रहरीले दमक नगरपालिका वडा नम्बर –५ स्थित सिवान चर्चको गेटमा सोही प्रकृतिको शंकास्पद बस्तु प्रेसर कुकर र हिमाल सुरक्षा परिषद्को नामको पर्चाहरु गत माघ १३ गते फेला परेको थियो ।
घटना सम्वन्धमा १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी र इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली संयुक्तरुपमा परिचालन भएर अनुसन्धान गरेको र अपराधिक गतिविधिमा संग्लग्न व्यक्तिहरुलाई फरक फरक मितिमा विभिन्न स्थानहरुबाट पक्राउ गर्न सफल भएको जानकारी गराइएको छ ।
पक्राउ परेका ब्यक्तिहरुबाट प्रहरीले हिमाल सुरक्षा परिषद् नेपाल लेखेको पर्चा २ थान, हिमाल सुरक्षा परिषद् नेपाल लेखिएको लेटर प्याड ५ थान, बैङ्कको चेकबुक २ थान, केन्द्रिय कमिटि, कोशी अंचल, मेची अंचल कमिटिको हस्ताक्षर मात्र भएको छापहरु १० थान, बिभिन्न कम्पनीका ७ थान मोवाइल फोन समेत बरामद भएको प्रहरीले बताएको छ ।
पक्राउ परेका ९ जनाको समुहलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थ सम्बन्धी कसूर अन्तर्गत झापा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।