धरानः विभिन्न गुट उपगटमा विभक्त भएर १४औं महाधिवेशनमा होमिएका कांग्रेसले सुनसरी क्षेत्र नं. १ मा भने महासमिति सदस्यको निर्वाचन सर्वसम्मत गरेर एकताको सन्देश दिन सफल भएको छ ।

महाधिवेशन प्रतिनिधिहरु मध्येवाट क्षेत्रीय प्रतिनिधिहरुले ११ जना महासमिति सदस्यको चयन गर्नुपर्ने कांग्रेसको विधानमा व्यवस्था रहेको छ । क्षेत्र नं. १ मा २६ मध्ये २३ जना कोइराला समुहवाट र ३ जना देउवा समुहवाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।

सर्वसम्मत चयन भएका महासमिति सदस्यहरु प्रत्यक्ष (खुल्ला) मा चन्द्रप्रसाद श्रेष्ठ, उमेश थापा, विनोद राई, तिलक राई र पर्वत राई, महिला (खुल्ला) मा श्यामा रेग्मी र ममता तामाङ, खसआर्य (खुल्ला) मा जगत कार्की, आदिवासी जनजाति (खुल्ला) मा सुवास राई, आदिवासी जनजाति (महिला) मा कृष्णकला मादेन, दलित (खुल्ला) मा संतोष विश्वकर्मा रहेका छन् । यी मध्ये विनोद राई र ममता तामाङ देउवा पक्षवाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार बनेका थिए ।

सबैजना महाधिवेशन प्रतिनिधिहरु महासमिति सदस्यको आकांक्षी भएतापनि क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, जिल्ला सचिव माधव घिसिङ, प्रदेशसभा निर्वाचन क्षेत्र सभापतिद्धय अनिल श्रेष्ठ र मुरारी भट्टराई, धरान नगर सभापति श्याम पोखरेल, उपसभापति प्रविन राईको समुहले पटक पटक संवाद र छलफल गरी सर्वसम्मत गर्न सफल भएको सभापति तामाङले बताए । उनले पार्टी एकता र आसन्न निर्वाचनलाई मध्यनजर गरी सहमतिमा जोड दिइएको बताउंदै सहमतिको वातावरण बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुका साथै त्याग गर्ने नेता साथीहरुको पनि उच्च मूल्यांकन गरिने बताए ।

FB_IMG_1645150616146

सभापति तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सचिव माधव घिसिङ, प्रदेशसभा निर्वाचन क्षेत्र १(१) का सभापति अनिल श्रेष्ठ, निर्वाचन अधिकृत वालकृष्ण चम्लागाई लगायतले निर्वाचित सबैलाई बधाई तथा शुभकामना दिएका थिए । महासमिति सदस्यमा सर्वसम्मत निर्वाचित भएका सबैले यस क्षेत्रमा नेतृत्व र साथीभाईले हामीलाई सर्वसम्मत चयन गरेर पार्टी एकताको सन्देश दिएको भन्दै खुशी व्यक्त गरेका थिए ।