इटहरीः धरान ४ स्थित धरान–भेडेटार सडक खण्डमा पर्ने आँपगाछी क्षेत्रको जङ्गलमा टुक्रा टुक्रा बनाएको अवस्थामा भेटिएको पुरुषको शव हत्या गरि फालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । तर हत्या भएको स्थान भने अलग भएको प्रहरीको दाबी छ ।

बुधबार साँझ शुरुमा जेब्रा झोलाभित्र टाउको र घुँडा मुनिको भाग भेटिएको थियो । शवको बाँकी भाग खोज्ने क्रममा बिहीबार बिहान एक किलोमिटर माथि अर्को झोलामा जिउको भाग प्रहरीले भेटाएको थियो । दुई स्थानमा भेटिएको शव एकै व्यक्तिको भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बुधबार र बिहीबार बिहान भेटिएको शवको टुक्राहरू एकै व्यक्तिको भएको पुष्टि गरे । तर शवको अझै पहिचान खुल्न नसकेको उनले बताए । शवमा परिचय खुल्ने कुनै सामाग्री नभेटिएको थापाले बताए । सामान्य जिन्स पेन्ट र टिसर्ट लगाएको अवस्थामा शव फेला परेको उनले बताए ।

शव टुक्रा टुक्रा हुनुको कारण हत्या नै भएको थापा बताउँछन् । अहिले घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान, संघीय प्रहरी इकाई कार्यालय धरान र १ नं. प्रदेश प्रहरीको (आरआइटी) समूह परिचालित छ ।अनुसन्धानको प्रकृया सहज बनाउन शवको पहिचान गर्ने काम पहिलो प्राथमिकतामा राखेर काम भइरहेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

‘म आफै फिल्डमा छु, सबै जिल्लामा मृतकको हुलिया परिपत्र गरेका छौ । परिचय खुल्न साथ अनुसन्धान सहज हिसाबले अघि बढ्छ ।’ शवको अवस्था हेर्दा बढीमा हप्ता दिन अघि हत्या भएको अनुमान गरिएको छ । अनुहार अलिअलि चिनिने अवस्थामा छ ।

टुक्रा टुक्रा पारिएको शवको प्रकृति हेर्दा हत्या अन्य ठाँउमा भएको र शव व्यवस्थापन गर्न जङ्गलमा फ्याँकिएको हुन सक्ने प्रहरीको अनुमान छ । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार शवलाई टुक्राटुक्रा बनाउनुको कारण शरीरका भागहरू जेब्रा झोलामा अट्नलाई सहज बनाउनको लागि गरिएको बताए । टाउको, खुटा र शरीरको भाग अलग अलग बनाएर दुईवटा झोलामा प्लाष्टिकले बेरेर शव जङ्गलमा फ्याँकेको अवस्था छ । यसमा धारिलो हतियार प्रयोग भएको स्पष्ट देखिन्छ ।

‘शव भेटिएको स्थान जङ्गल क्षेत्र पर्छ । त्यस कारण रातको समयमा सबारी साधनको मद्दतबाट शव ल्याएर यहाँ फालिएको हाम्रो अनुमान हो’ उनले भने –‘बाँकी हत्याको कारणहरू अनुसन्धान गदै जाँदा खुल्नेछन् ।’ फेला परेका शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । बुधबार साँझ जंगलमा सिस्नु खोज्न गएका महिलाहरुले दुर्गन्ध फैलिएको जेब्रा झोलाबाट टाउको बाहिर निस्केको देखेर प्रहरीलाई जानकारी दिएका थिए ।