सुनसरीको रामधुनी नगरपालिका मेयर जयप्रकाश चौधरी नेपाली कांग्रेसबाट निर्वाचित भएका मेयर हुन् । नेकपा (एमाले)को पकट क्षेत्र मानिने रामधुनीमा उनले अघिल्लो चुनावमा मेयर पदमा एमाले नेता नन्दकुमार बस्नेतलाई हराएपछि ‘कम्युनिष्ट किल्ला’ भत्काएको भनेर पनि उनको चर्चा हुने गर्छ । ‘कम्युनिष्ट किल्ला’ भत्काएर निर्वाचित भएका मेयर चौधरी सरल स्वभावका छन् । राम्रो काम गरेको भनेर चर्चा नबटुले पनि नराम्रा काम गरेको भनेर त्यति धेरै बिबादमा पनि उनी मुछिएका छैनन् । स्थानीय तहको निर्वाचनको मिति नजिएपछि रामधुनीमा एउटा चर्चा सुनिन्छ, –‘कम्युनिष्ट किल्ला’ भत्काउँदै चुनाव जित्न सफल उनै मेयर चौधरीलाई कांग्रेसले पुनः मेयरमा अगाडि सार्छ । के फेरि आगामी चुनावमा बर्तमान मेयर चौधरीले पुनः मेयर पदमा उम्मेदवारी दिन्छन् त ? पार्टीले उनलाई पत्याएर टिकट दिएला त ? उनै मेयर चौधरीसँग प्रदेश पोर्टलका लागि सह सम्पादक शिशिर भट्टराइले गरेको कुराकानीको संपादित अंश यसप्रकार छः

तपाईँ मेयर भएर करिब ५ बर्ष स्थानीय सरकार चलाउँनुभयो । के छ सफल भए भन्ने लाग्छ ?

सकेको काम गरेको हो । संघीयताको कार्यान्वयनको पनि चरण थियो । हामीले इमान्दारपूर्वक सकेजति काम गरेका छौँ ।

तपाईँहरुले ५ बर्षमा गरेका राम्रा कामहरु चै केके छन् ?

शिक्षा, स्वास्थ्य, पर्यटन जस्ता क्षेत्रमा प्रशस्त कामहरु भएका छन् । भौतिक संरचना निर्माणको कुरा गर्ने हो भने नगरपालिकाको भवन निर्माण भएको छ । ९ ओटै वडामा वडा कार्यालयहरु निर्माण भएका छन् । स्वास्थ्यको कुरा गर्दा विभिन्न वडामा स्वास्थ्य संस्थाहरु निर्माणका कुराहरुदेखि कोभिड अस्पताल निर्माण गरेका छौँ । वकलौरी स्वास्थ्य चौकीलाई स्तरउन्नती गर्दै १५ शैयाको अस्पताल निर्माणको प्रकृया सुरु भएको छ । सिंगियाको जनता माविमा प्राविधिक धारको पढाइ सुरु भएको छ । बकलौरीको विद्यालय नमुना विद्यालय बन्ने चरणमा अगाडि बढेको छ । विभिन्न विद्यालयका भवनहरु निर्माण भएका छन् ।

कतिपय सामुदायीक विद्यालयमा अंग्रेजी माध्यमका पठनपाठन् अगाडि बढ्दैछन् । भासी क्याम्पसको भवन नभएर सम्बन्धन नै खारेज हुने अबस्थामा थियो । मेरै पहलमा जग्गा खोजेर भवन निर्माणको प्रकृया अगाडि बढेको छ । नगरले निर्माण गर्नुपर्ने कतिपय कानुन निर्माणका कामहरु पनि हामीले गरेका छौँ । बालमैत्री नगरपालिका घोषण गरेर त्यसलाई अझ मजवुद कार्यान्वयनको चरणमा लगेका छौँ ।

IMG_20220214_151646 (1)

विद्यालय बाहिर रहेका विद्यालय उमेर समुहका बालबालिकालाई विद्यालयसम्म पुर्याउँने कुरामा नगरपालिका लगभग सफल भएको छ । बालबिबाह घटेको छ । बालश्रम न्यूनिकरणका कामहरु भइनै रहेका छन् । पर्यटनको कुरा गर्ने हो भने रामधुनी मन्दिर पहिला कस्तो थियो, अहिले कस्तो आफै हेर्न सक्नुहुन्छ । रासताल र शंकरबेली जस्ता पर्यटकिय स्थलहरुलाई पनि निकै ब्यबस्थित बनाउँने पहल भएका छन् ।

तपाईँले सिंन्को पनि भाँच्न सक्नुभएन पनि भन्छन् नी ?

भन्न त भन्छन् । सिंन्कै नभाँचेको भए अहिले मैले भनेका यत्तिका काम कसले गर्यो त ? अझै हुनुपर्थो भन्ने साथीहरुको धारण ठिकै हो । यहाँभन्दा पनि धेरै काम भएको, बिकास भएको त राम्रो हो नी ।

तपाईँ कांग्रेसबाट निर्वाचित हुनुहुन्छ । कम्युनिष्टको किल्ला भत्काएर चुनाव जित्नुभयो भन्ने निकै चर्चा पनि हुन्छ । तपाईको पार्टीभन्दा विपक्षी(एमाले) पार्टीका जनप्रतिनिधि धेरै हुनुहुन्छ, त्यस्तो हुँदा तपाईलाई काममा असहयोग भएको, असहज भएको महसुस भएन ?

हुनत रामधुनी नगरपालिकामा मेरो पार्टीका भन्दा विपक्षी पार्टीका साथीहरु धेरै हुनुहुन्छ । तर मलाई यहाँ विपक्षी पार्टीका जनप्रतिनिधि साथीहरु हुनुहुन्छ जस्तो पनि लागेन । एमालेका साथीहरुको पनि सकारात्मक सहयोगले गर्दा धेरै कामहरु गर्न सकियो ।

सबैको साझा उद्देश्य राम्रो काम गर्ने भन्ने हो, त्यहि भएर मिलेर काम गर्यौ । चुनाव लड्दा पार्टीगत चुनाव लड्ने हो । जितेर आएपछि जनप्रतिनिधि सबैको साझा हो । यो पार्टी, त्यो पार्टी छुट्याउँनु राम्रो होइन । एउटै उद्देश्य –‘जनताको सेवा गर्ने’ भएपछि किन पार्टीगत लडाइँमा उत्रिनु र !

को बिषय हो । कसैले सफल भन्लान् कसैले असफल १ बजारमा एउटा प्रश्न छ क्या– कांग्रेसले तपाईलाई फेरि मेयरमा अगाडि सार्दैछ रे हो ?

अहिले नै यो अथवा त्यो भन्न मिल्दैन । अहिले नै म बोले भने अलिक हतार हुन्छ । अब साथीहरुसँग पनि सल्लाह गर्नुपर्यो । कार्यकर्ताको बिचार पनि बुझ्नुपर्यो । मतदाताको भावना पनि बुझ्नुपर्यो ।

तपाईलाई चै पुनः मेयरमा दोहोरिने इच्छा छ कि छैन ?

हैन, राजनीति गर्ने मान्छे, समाजसेवा गर्ने मान्छे जनताको सेवा गर्न दोहोरिने कुरा त त्यति ठूलो कुरा भएन । म पनि राजनीति गर्ने मान्छे, समाजसेवा गर्न र जनताको बिचमा जान त किन डराउँनु र १ मलाई लाग्छ कोहि पनि राजनीति गर्ने मान्छेले जनताको सेवा गर्न जनताको बिचमा जान्छस भन्दा जान्न चै भन्दैन होला ।

तपाईका सुभचिन्तकहरुको पनि जिज्ञासा छ क्या –तपाईँ फेरि चुनाव लड्ने तयारीमा हो ?

मैले भनिसकेँ, तपाइँले बुझ्नुपर्ने हो, राजनीति गर्ने मान्छे, समाजसेवा गर्ने मान्छे जनताको बिचमा जानबाट डराउँदैन । अहिले यत्ति नै भनौँ । अहिले मेयर भइरहेको मान्छेले यहाँभन्दा धेरै भन्नू हुँदैन ।