बराहक्षेत्रः नेपाली कांग्रेस सुनसरी जिल्ला सभापति केदार भण्डारीले जनताको सेवा गर्ने व्यक्तिले चुनावमा टिकट पाउनुपर्ने बताएका छन् । बराहक्षेत्र नगरपालिका ४ नम्बर वार्डमा मंगलबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र योगदान दिएका, सफा छवि भएका र जनताले मान्य हुने व्यक्तिलाई टिकट दिनुपर्नेमा जोड दिएका हुन् ।
‘स्थानीय चुनाव नजिकिँदै गर्दा टिकट माग्नेको ताँती लाग्न थालेको छ, उनले भने, अब कांग्रेसमा सर्वसम्मतमा मात्र टिकट दिइनुपर्छ ।’ कांग्रेसभित्र टिकटको दाबी गर्ने थुप्रै हुने भएपनि स्थानीय तह आफैले सकेसम्म सर्वसम्मत गर्दा राम्रो हुने उनको तर्क छ ।
कार्यक्रममा वार्ड कार्यसमितिका पदाधिकारीबाट उठेको प्रश्नको जवाफ दिँदै उनले कार्यकर्तालाई आवश्यकताबमोजिम जुनसुकै तालिम दिन पनि जिल्ला कार्यसमिति तयार रहेको स्पष्ट पारे ।
त्यस्तै, बराहक्षेत्रका नगरसभापति रमेश कार्कीले नगरलाई सक्रिय बनाउँने बताउदै बराहक्षेत्र कांग्रेसलाई सुनसरीकै नमुना नगरको रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा बोल्दै चुनावमा टिकट पाउने व्यक्तिलाई सबै कार्यकर्ताले सहयोग गर्नुपर्ने प्रदेश १ ख सभापति मुरारी भट्टराईले बताएका छन् ।
यता, जिल्ला सचीव विरेन्द्र शाहले भनेका छन्, कांग्रेस मात्र यस्तो पार्टी हो जसले सबै कार्यकर्तालाई अबसर दिएरै छाड्छ । धरानका चन्द्र श्रेष्ठलाई जीवनको उतार्धमा भएपनि प्रदेशसभा सांसदमा टिकट दिएर जिताएको उनले सुनाए ।जिल्ला उपसभापति पंकज महतोले जनताको मन जित्ने व्यक्तिले टिकट पाउने बताए । निर्वाचनको मुखमा टिकटका लागि चाप्लुसी नभइ जनताको सेवा गर्न समेत उनले आग्रह गरे ।
नेपाली कांग्रेस सुनसरी निर्वाचन क्षेत्र नं १ को पुर्वनिर्धारित कार्यक्रम अन्तर्गत पार्टी संगठन र सुध्रिढिकरण अभियान जारी राखेको छ । रामधुनी नगरपालिकाबाट सुरु गरेको यो अभियान यस क्षेत्रमा पर्ने २७ नै वडामा गर्ने योजना रहेको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले जानकारी दिए ।कार्यक्रमका सभादक्ष्य समेत रहेका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले वार्डमा भएको कमिकमजोरीलाई सुधार गर्न, पार्टीले भातृ संगठनलाई विस्तार र सकृय गर्न, गाउँमा पार्टी शसक्तिकरण गर्न क्षेत्रको यस् अभियान सुरु गरेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस बराहक्षेत्र नगर कार्यसमिति, ४ नम्बर वार्ड कार्यसमितिको पहलमा निर्माण हुँदै गरेको बराहक्षेत्र ४ स्थित दृष्टिबिहिन तथा शारीरिक अशक्त छेदन चौधरीको घर निर्माणमा नगर सदस्य रत्न बहादुर बस्नेत (केदार) ले ३ हजार सहयोग प्रदान गरेका थिए । बराहक्षेत्र ४ नम्बर वार्ड कार्यसमितिको पार्टी कार्यालय जमटोकीमा भएको कार्यक्रममा क्षेत्र १ ख सचिव राजेन्द्र खड्काले सहजीकरण गरेका थिए ।