रामधुनीः स्थानीय तह निर्वाचनको मिति नजिकिएपछि रामधुनीमा चुनावी माहोल तातेको छ ।
आगामी बैसाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि गाउँ–टोलमा बिषेश गरि नेकपा (एमाले) र नेपाली कांग्रेसले आफ्नो सक्रियता बढाएका छन् ।

सोमबार मात्रै एमाले रामधुनीले वडा नं. ९ मा मर्चैया टोल कमिटी, वडा नं. ८ मा खोरिया टोल कमिटी र वडा नं. १ मा भादगाउँ टोल कमिटी गठन गरेको छ भने वडा नं.५ मा अगुवा कार्यकर्ता भेला गरेर चुनावी योजना अगाडि बढाएको छ ।

त्यस्तै, कांग्रेसले पनि सोमबार मात्रै वडा नं. ५ मा बयरबन टोल कमिटी गठन् गरेको छ भने विभिन्न वडाका गाउँ गाउँमा पुगेर यसअघि नै कांग्रेसले थुप्रै टोल कमिटी बिस्तार गरि आफ्नो संगठन बिस्तारलाई तिब्र बनाएको छ ।
रामधुनीलाई एमालेले आफ्नो गढ मान्दै आएको भए पनि अघिल्लो निर्वाचनमा मेयर पदमै पराजय बेहोरेपछि एमाले रक्षात्मक बनेको छ ।

त्यस्तै, अघिल्लो निर्वाचनमा मेयर, वडाअध्यक्ष लगायत जनप्रतिनिधि जितेपछि त्यो साखलाई जोगाउँदै स्थानीय तहमा आफ्नो उपस्थिति बलियो बनाउँने दवावमा कांग्रेस छ ।

आगामी निर्वाचनमा कांग्रेसले मेयरसहितका पदमा सहजै जित्ने र आफ्नो उपस्थिति स्थानीय सरकारमा बलियो जनाउँने योजना आफुहरुको रहेको रामधुनी कांग्रेसका सचिव महेश चौधरी बताउँछन् ।

त्यस्तै, अघिल्लो निर्वाचनमा विभिन्न कारणले मेयरको चुनाव हारेको भए पनि बहुसंख्यक जनप्रतिनिधि आफ्नै पार्टीका भएको र आगामी चुनावमा नेकपा एमालेले मेयरसमेत जित्ने एमाले नगर कमिटीका उपाध्यक्ष प्रदिप खनाल बताउँछन् ।
रामधुनीमा कांग्रेस र एमाले बाहेकका दलहरु भने चुनावी अभियानमा निस्किएका छैनन् । यी दुई पार्टी भने आआफ्नो जित हात पार्ने उद्देश्यका साथ निर्वाचनको तयारीमा होमिएका छन् ।

हाल उपमेयरसहित करिब दुईतिहाई जनप्रतिनिधि नेकपा (एमाले) बाट निर्वाचत भएका छन् भने मेयरसहित करिब १ तिहाई जनप्रतिनिधि कांग्रेसबाट निर्वाचित भएका छन् ।रामधुनीको स्थानीय सरकारमा अन्य दलको उपस्थिति शुन्य रहेको छ ।