इटहरीः पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले इटहरी उपमहानगरपालिकाको प्रशासकीय भवन शिलान्यास गरेका छन् । इटहरी उपमहानगरपालिका परिसर मेचीकाली पोखरी छेउमा साँस्कृतिक भवन उत्तर पट्टि भवनको शिलान्यास गरेका हुन् ।
९ करोड १८ लाख २४ हजार ३ सय ६४ रुपिँयाको लागतमा छ तले भवन निर्माण हुने छ । शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व उपप्रधानमन्त्री पोखरेलले इटहरी उपमहानगरपालिकामा भएका विकास निर्माणका कार्यको प्रशंसा गरे । जनताको स्वार्थभन्दा ठूलो कुनै पनि वाद,सिद्धान्त हुन नसक्ने उनको भनाई छ । उनले जनप्रतिनिधिहरु जनताको अडिटिङमा खरो उत्रन सक्नुपर्नेमा जोड दिए । पूर्व उपप्रधानमन्त्री पोखरेलले स्थानीय तहहरुले आधारभूत रुपमा उल्लेख्य कार्य गरेको वताए ।
इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले आफनो कार्यकालमा इटहरीको विकास र सम्वृद्धिका लागि उल्लेख्य कार्य भएको वताए । जनताको सहयोगमा पूर्वाधार निर्माणमा इटहरीले फडको मारेको उनको दावी छ । अव वाँकी १सय दिनमा पचाँस वढि योजना उद्घाटन र शिलान्यास हुने प्रमुख चौधरीले जानकारी दिए । उपप्रमुख लक्ष्मी गौतमले कोभिडका कारण पाँच सय दिन विकास निर्माणका काम प्रभावित भएपनि भौतिक पूर्वाधार निर्माणमा इतिहाँस रच्न सफल भएको वताए ।
उनले गाँउ गाँउका सडक कालोपत्रे भएको,२ वटा वाहेक सवै वडा कार्यालय भवन निर्माण,१४ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण भइसकेको जानकारी दिए । कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकीय अघिकृत सूर्य प्रसाद सुवेदीले स्वागत गरे । इटहरी वडा नम्वर ६ का अध्यक्ष दिपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ इन्जिनियर जीवन घिमिरेले भवनको प्राविधिक पक्ष र लागतका वारेमा प्रष्ट पारे । यसैबिच पूर्व उपप्रधानमन्त्री पोखरेलले आजै इटहरी वडा नम्वर १७ खर्सेला खोलामा निर्मित पूलको उद्घाटन गरे । २२ लाख १ हजार लागतमा निर्मित पूल उद्घाटन गरेका थिए । कार्यक्रम वडा नम्वर १७ का अध्यक्ष भगवान लाल शाहको अध्यक्षतामा भएको थियो ।