इटहरीः नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको चुनाव नजिँकिँदै गएकाले टिकट मिलाइदिनोस् है भन्दै नेताका घर–घर नधाउन पार्टीका कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आइतबार इटहरीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेता पोखरेलले यसपालिका टिकट“मलाई मिलाईदिनोस है” भन्दै नेताको घर घर नहिड्न पार्टी पत्तिंलाई निर्देशन दिएका हुन् ।
पालिका र वडामा कसलाई उम्मेदवार बनाउने भनेर पार्टीको स्थानीय तहले सिफारिस गर्ने र सोही आधारमा केन्द्रले निर्णय लिने भएकाले टिकटका लागि नहिड्न नेता पोखरेलले भनेका हुन् । “नेता नेताको घरमा गएर मिलाई दिनु है भन्ने कोशिस नगर्नु होला ।” पोखरेलले प्रशिक्षणमा भने ।
हरेक स्थानीय तहमा जनप्रतिनिधिले गरेको काम कारवाहीको परिक्षण जनताले गरिरहेकाले जनताले न्यायाधिश भएर मुल्यांकन गरिरहेको पनि बताए । पोखरेलले बेरुजु नहुने गरि खरो रुपमा काम गर्नुपर्ने र अनिमात्रै जनताले पत्याउने बताए ।