इहटरीः उदयपुरको बेलका नगरपालिका स्थित आदीवासी जनजातीको भवनमा आइतबार सदाभन्दा फरक माहौल बन्यो । सानो सभाहल खचाखच भरिएको थियो न कुनै व्यानर न कुनै झण्डा न त खादा र माला नै । रोचक लाग्दो माहौलले दिउँसोको बाह्र बज्नै लाग्दा स्वागत गर्यो लेखक, विश्लेशक तथा राजनितिज्ञ विश्वभत्त दुलाल “आहुती” लाई ।
धेरै जसो कार्यक्रमहरु भद्धा हुन्छन् । तामझाँम , स्वागत सत्कार, आसन ग्रहण, त्यस्तै फजुल खर्चमा घन्टा बित्ने गर्छ तर आइतबारको माहौल अनौठो लाग्दो देखियो । कार्यक्रममा तयारीमा निकै खटेको श्याम विश्वकर्माले बाटैमा सुनाए “ व्यानर नबनाउने निर्णय गरियो” । कार्यक्रम स्थल निकै चहलपहल थियो सबैको प्रतिक्षा “आहुती” आउना साथ सबै भटाभट कार्यक्रमहलमा प्रवेश गरे ।
कार्यक्रमको सभापतित्व गर्दै थिए सयुक्त दलित एकता समाज वेलका नगरपालिकाका अध्यक्ष उमेश विश्वकर्मा , प्रमुख अतिथी, र जम्मा ३ जना अतिथिहरुलाई मञ्चमा बोलाइयो । मञ्चमा उक्लिेने अतिथिहरुमा जनजाति महासंघ बेलकाका अध्यक्ष ललित राई, नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिका अध्यक्ष राकेश किराँती र बेलका नगरपालिकाका कार्यपालिका सदस्य बिचारी सार्की थिए । कार्यक्रमको सुरुमै तीनै जना अतिथीलाई कार्यक्रममा प्रमुख वक्ता आहुतीबाट के सुन्न चाहानुहुन्छ भनेर छोटो समय उपलव्ध गराइयो ।
वक्ता ललित राईले दलित आदिवासीले नेपाली नागरिक भएर पनि नेपाली हुन नसेकेका साथै मधेसी समुदायका सदा, झागड, माझी जस्ता जातीहरु अहिले सम्म जननिर्वाचित पदमा अहिलेसम्म पुग्न नसकेको जस्ता पिडाहरु सुनाए ।
बेलका नगरपालिकका कार्यपालिका सदस्य बिचारी सार्कीले संघियता कार्यान्वायनमा गईसकेपछि पनि सदस्यमा उम्मेद्धवार बन्ने दलित सदस्यको क्षमता कति हुने? योग्यता के हुन?े अनि उसले आफ्नो समुदायको लागि कति सम्म आवाज उठाउन सक्ने? जस्ता कुरा राख्न भ्याए ।
प्रमुम आकर्षणको रुपमा उभिएका विश्वभक्त दुलाल आहुतीले नेपालको वर्तमान संविधाननै अहिलेको सन्दर्भमा बेठिक रहेको टिप्पणी गरे । जहाँ उत्पीडित दलित, जनजाति, तथा पिछडिएको वर्गको सहभागिता छैन भने त्यो व्यवस्था ठिक हुदैन भन्दै उनले अव यो व्यवस्थानै परिवर्तन गर्न लाग्नुपर्ने औल्याए ।
आफ्नो पुख्र्यौली थलोमा सम्मान सहितको संघियता होस् भनेर आफुहरुले माग गरेको भएपनि त्यो हुन नसक्दा जनजातिहरु यो संविधानबाट ठगिएको आहुतीको टिप्पणी थियो ।
सविधानले देशको परिचयमै गलत व्याख्या गरेकाले यो व्यावस्थामा नेपालमा दलित, जनजातिहरु , उत्पिडनमा परेकाहरु यहाँ छन् भनेर संविधानमा कहिँ कतै व्याख्यानै नगरिएको टिप्पणी आहुतीले गरेका छन् । सबैको प्रतिनिधित्व हुने भन्दै समानुपातिक र खुल्ला भनेर राखिएको भएता पनि समानुपातिकमा पनि बहुसंख्यक रहेको हिन्दु उच्चजातिलाईनै मनोनित गर्ने गरेको र पिछडिएको वर्गलाई अपमान बोध हुने काम गरेको आहुतीको आरोप थियो । “महिलाको समस्या छ भनेर संविधानले भनेको छैन, जातीय व्यावस्था छ भनेर संविधानले भनेको छैन त्यसैले यो संविधानमा आधारभुत नेपालीको समस्या समाधान गर्ने व्यावस्था छैन र जात व्यावस्था छ भनेर स्वीकार गर्दैन ।” आहुतीले भनेका छन् ।
दलितहरुलाई आरक्षण दिइएको भनेर थापथुप गर्ने गरेको भएता पनि आरक्षण नै समाधान नभएको उनको टिप्पणी छ । “यो पुजीँवादी व्यावस्था हो, दलाल पुँजीपतिलाई हिट गर्ने व्यावस्था हो । एक पटक चुनाव आउँदा २ पटक बजार भाउ बढ्छ यहाँ पैसा खर्च गरेर चुनावको नाटक गरिन्छ ।” आहुतीले अघि भने ।
बैज्ञानिक समाजवादी पार्टीको नारा लिएर अघि बढेको आहुती पहिला नेकपा माओवादीका नेता हुन् । बेलकामा गरिएको कार्यक्रम राजनितिक नभई सबै वर्गलाई लक्षित गरेर आयोजना गरिएकाले विकल्पको रुपमा व्यावस्था नै परिवर्तन चाहानेलाई साथै लिएर हिड्ने विश्वभक्तको आशय थियो ।
२०४१ सालदेखि कम्युनिष्ट पार्टीको नारा बोकेर हिडेका विश्वभत्त दुलाललाई वेलकामा बोलाएर स्वागत गर्न पाउँदा खुसी लागेको सयुक्त दलित एकता समाजका अध्यक्ष उमेश विश्वकर्माले बताए । झापा र मोरङ्ग जिल्लामा पार्टीको कामले आएका आहुतीलाई बेलकामा बोलाएर उनका विचार सुन्ने अवसर सिर्जना गर्दा आफ्नै संस्थाका साथीहरुले विश्वास नगरेकोमा भने उमेशले चिन्ता व्यक्त गरेका थिए । रमेश विश्वकर्माले सञ्चालन गरेको कार्यक्रममा झण्डै ६ दर्जन बेलका नगरवासीको उत्साहजनक उपस्थिती थियो ।