लोकतन्त्र सबैभन्दा उत्तम शासन प्रणाली मानिन्छ । अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य तत्व हो । विधिको शासनले लोकतन्त्र बलियो हुन्छ । विधिको शासन यथार्थमा मुखरित हुनका लागि विधि सबैमाथि समान रुपमा आकर्षित हुनुपर्दछ । अझ भनौँ, विधि बनाउने वा नेतृत्वमा बस्ने व्यक्तिमाथि त्यसको परिपालनाको अतिरिक्त दायित्वसमेत हुन्छ । तर, इटहरीको हकमा यस्ता आदर्श सिद्धान्तहरु पटकपटक मिथ्या साबित हुँदै आएको तथ्य कसैबाट लुकेको छैन ।
जननिर्वाचित स्थानीय सरकारका प्रधान अधिकारीका रुपमा आसिन इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीबाट नै व्यक्तिउपर भइरहेका संवैधानिक ओहदाको नाजायज तुजुक प्रदर्शन लोकतन्त्रलाई प्रदूषित तुल्याउन पर्याप्त छन् । स्थानीय सरकार निर्वाचित भएका बखतदेखि नै मेयर चौधरीको स्वेच्छाचारितायुक्त तमासा जारी छ । कहिले उनी आफूमाथि कडा प्रश्न गर्ने पत्रकारका अगाडि आफ्नो प्रतिरक्षा गर्न नसकेर पत्रकारमाथि हातपात तथा दुव्र्यवहार गर्छन् त कर्मचारीमाथि कुटपिट गर्छन् । कार्यकक्षमै महिला सेवाग्राहीलाई गालीगलौज गर्ने मेयर चौधरी सार्वजनिकस्थलमै ‘रन्डी जिन्दावाद’ को नारा फलाक्न पनि पछि पर्दैनन् । आफूलाई इटहरीको ‘भूमिपूत्र’ बताउने मेयर चौधरी भ्रष्टाचारीलाई कारबाही गर्ने भन्दै आफूलाई भ्रष्टाचारीको संहारकका रुपमा बजारमा आफ्नो छबि चम्काउन खोज्छन् । तर, महालेखापरीक्षकको कार्यालय उनको सबै हत्कण्डालाई ठण्डा बनाउने गरी बेरुजुको वर्षा गराइदिन्छ उनकै थाप्लोमाथि । आर्थिक अनियमितताको कालोमोसो अनुहारभरि लपक्कै लेपिएका मेयर चौधरी सडक चौडा बनाउनेजस्ता केही सुधारको काम गरेजस्तो गरी दुधले नुहाउन त खोज्छन् तर त्यही सडक चौडा गर्दा पनि आफ्ना आसेपासेलाई भने नछुने उनको पक्षपाती व्यवहारले दुध पनि अलकत्रा बनिदिन्छ ।
नेकपा एमालेबाट पाएको टिकटबाट चुनाव लडी मेयरको कुर्सीमा बसेका चौधरीलाई पार्टीले पनि पत्याउन छोडेको तथ्य पार्टीको जिल्ला अध्यक्षको निर्वाचनमा ८० मत ल्याएर उनले व्यहोरेको लज्जास्पद पराजयले प्रमाणित गर्दछ । पार्टी राजनीतिमा पराजय र स्थानीय सरकारको ऐतिहासिक अलोकप्रियतालाई ओझेलमा पारेर लाज छोप्नुपर्ने बाध्यताले उनलाई मानसिक रुपमा यतिसम्म हतास बनाएको छ कि उनी थप क्षुद्र हर्कतहरुका साथ राजनीतिक तथा सामाजिक नग्ननृत्य प्रदर्शनमा उत्रिएका छन् । यसैको पछिल्लो प्रकट रुप हो, पत्रकारको ‘मुखमा मुत्ने’ धम्की प्रकरण ।
प्रदेश पोर्टल डट कम मा चार दिनअघि अर्थात माघ २६ गते प्रकाशित ‘इटहरीका चामल चोरहरुसँग जनताको अपेक्षा र स्थानीय तहको निर्वाचन’ शीर्षकको समाचार विश्लेषणलाई लिएर मेयर चौधरीले सार्वजनिक रुपमै सो पोर्टलका प्रबन्ध सम्पादक ‘प्रेमप्रसाद बास्तोला’ प्रति लक्षित गर्दै ‘बास्तोला मेरो अगाडि आउ, मुखमा मुतिदिन्छु’ भन्ने टिप्पणी (कमेन्ट) लेखेका छन् ।
सो समाचार विश्लेषणमा सामग्रीका लेखक तथा प्रदेश पोर्टल डट कमका कार्यकारी सम्पादक प्रकाश बन्जाराले इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधिहरुको आर्थिक अनियमितता गर्ने प्रवृत्तिलाई आम रुपमा विश्लेषण गरेका छन् । त्यसमा कुनै व्यक्ति विशेषले के कति रकम अपचलन गरेको हो भन्ने यकिन आरोप लगाइएको छैन । न त मेयर चौधरीको नाम नै उल्लेख गरिएको छ । जनप्रतिनिधिहरुले चामल खरिदमा अनियमितता गरेको प्रतिवेदन महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेकै हो र अनियमितता भएको रकम सम्बन्धित व्यक्तिबाट असुलउपर गर्न उपमहानगरपालिकाका नाममा पत्र लेखेकै हो ।
यो तथ्यलाई सम्बन्धित प्रतिवेदनको प्रतिले तत्कालै प्रष्ट पारिहाल्छ । चामल खरिदमा गरिएको घोटाला मात्र होइन, अन्य थुप्रै खरिद प्रकृयामा भ्रष्टाचार भएको विषय महालेखापरीक्षकको कार्यालयले औँल्याइसकेको र केही विषयहरुमा मेयर चौधरीसमेत प्रत्यक्ष संलग्न रहेको प्रष्टोक्ति सो प्रतिवेदनले नै गरेको छ । महालेखापरीक्षकको कार्यालय संवैधानिक अङ्ग हो । मेयर चौधरीको भन्दा सो कार्यालयको कानूनी हैसियत स्वभाविक रुपमा ठूलो छ भन्ने विषय मेयर चौधरीलाई जानकारी नहुने विषय होइन । अब, महालेखापरीक्षकको प्रतिवेदनलाई आधार बनाएर प्रस्तुत गरिएको समाचारमुलक सामग्रीलाई आधार बनाएर सो सामग्री लेख्ने कार्यमा कुनै संलग्नता नै नभएका पत्रकारको ‘मुखमा मुत्ने’ धम्की दिइरहँदा आगामी वैशाख ३० गतेका लागि घोषणा भइसकेको स्थानीय तहको चुनावका दिन जनताले मतपेटिकामा खसाल्ने ‘मत’ नै उनको मुखमा ‘मुत’ का रुपमा चुहियो भने ‘भूमिपुत्र’ को के गति होला हेर्न बाँकी छ ।
-लेखक सूचना पोर्टल डटकममा आवद्ध पत्रकार हुन् ।